रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न


काठमाडौं ।

नेपाली सेनाले आयोजना गरेको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम ( डीसीओपी)” सम्पन्न भएको छ।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डामा यही वैशाख २८ गतेदेखि सञ्चालन भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो।

समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी राजाराम बस्नेतले कार्यक्रममा सहभागी २९ जना सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए।

त्यसैगरी, लामो समयदेखि काठमाडौं तथा आसपासका जिल्लामा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका पाँच वटा एफएम रेडियो स्टेशनलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

कार्यक्रमका क्रममा सहभागी सञ्चारकर्मीलाई नेपाली सेनासम्बन्धी विभिन्न विषय, विपद् प्रतिकार्य तथा समसामयिक विषयमा जानकारी गराइएको थियो। साथै अन्तरक्रियात्मक छलफलसमेत गरिएको सेनाले उल्लेख गरेको छ।

नेपाली सेनाले यस्ता कार्यक्रमले विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई सेनासम्बन्धी समाचार सम्प्रेषणमा थप सहजता र स्पष्टता मिल्ने विश्वास लिएको जनाएको छ।