एसियन गेम्स क्वालिफायर खेल्न नेपाली टोलीको घोषणा


काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले बुधबार टोलीको घोषणा गरेको हो । जसमा, तीन खेलाडी परिवर्तन गरिएको छ ।

रचना चौधरी, रोमा थापा र सुमन विष्टलाई हटाएर सीता रानामगर, सोनी पाखरिन र सिमा केसीलाई टोलीमा राखिएको हो । टोलीमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोलाई निरन्तरता दिइएको छ ।

यसका साथ विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री टोलीमा यथावत रहेका छन् । वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउदलाई राखिएको छ ।

एसियन गेम्स क्वालिफायर मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सन्म हुनेछ । दुबै प्रतियोगिता मलेसियामा हुनेछ । एसियन गेम्सका लागि ८ टोलीले प्रतिस्पर्धा गर्नेमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पहिल्यै छनोट भइसकेका छन् ।

बाँकी ४ टोली छनोट हुन बाँकी छ । यसैको लागि नेपालले छनोट प्रतियोगिता खेल्न लागेको हो ।