चिकित्सक संघको नयाँ नेतृत्व जिम्मेवारीको परीक्षामा



नेपाल चिकित्सक संघको निर्वाचन सम्पन्न भएसँगै चिकित्सक समुदायले नयाँ नेतृत्व पाएको छ । तीन दिनसम्म चलेको मतगणनापछि डा. बद्री रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । यससँगै संघको ३०औँ कार्यसमितिमा उहाँको समूहको स्पष्ट प्रभाव देखिएको छ ।

अध्यक्षसहित अधिकांश महत्वपूर्ण पदमा डा. रिजाल समूह विजयी हुँदा केही पदमा डा. मंगल रावल समूह तथा ‘टिम रिफर्म’ को पनि उपस्थिति कायम रह्यो । निर्वाचन लोकतान्त्रिक अभ्यास हो । यसमा प्रतिस्पर्धा, आरोप–प्रत्यारोप, रणनीति र समूहगत ध्रुवीकरण स्वाभाविक मानिन्छ ।

तर निर्वाचन सकिएपछि सबैभन्दा महत्वपूर्ण कुरा परिणामलाई स्वीकार गर्दै साझा उद्देश्यतर्फ अघि बढ्नु हो । नेपाल चिकित्सक संघ कुनै एउटा समूह वा व्यक्तिको संस्था होइन, यो देशभरका चिकित्सकहरूको साझा छाता संगठन हो । त्यसैले नयाँ नेतृत्वले आफूलाई विजयी समूहको मात्र नभई सम्पूर्ण चिकित्सक समुदायको प्रतिनिधिका रूपमा प्रस्तुत गर्नुपर्ने चुनौती छ ।

यसपटकको निर्वाचनले चिकित्सक समुदायभित्रको वैचारिक विविधता पनि देखाएको छ । डा. मंगल रावल समूहबाट केही उपाध्यक्ष तथा सदस्य विजयी हुनु र टिम रिफर्मबाट पनि प्रतिनिधित्व हुनु सकारात्मक संकेत हो । यसले संघभित्र बहस, आलोचना र सुधारका आवाज जीवित रहेको पुष्टि गर्छ । नयाँ नेतृत्वले यस्ता फरक मतलाई प्रतिपक्षका रूपमा होइन, संस्थालाई मजबुत बनाउने अवसरका रूपमा लिन सक्नुपर्छ ।

नेपालको स्वास्थ्य क्षेत्र अहिले अनेक चुनौतीबाट घेरिएको छ । सरकारी अस्पतालमा जनशक्ति अभाव, चिकित्सकमाथि हुने आक्रमण, स्वास्थ्यकर्मीको असुरक्षा, विदेश पलायन, निजी र सरकारी स्वास्थ्य सेवाबीचको असन्तुलन तथा नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचजस्ता विषय गम्भीर बन्दै गएका छन् ।

यस्ता चुनौतीबीच नेपाल चिकित्सक संघको भूमिका केवल पेसागत हकहितमा सीमित रहन सक्दैन । यसले स्वास्थ्य नीतिमा सरकारलाई जिम्मेवार बनाउने, चिकित्सक र बिरामीबीच विश्वासको वातावरण निर्माण गर्ने तथा स्वास्थ्य क्षेत्र सुधारको नेतृत्व गर्ने दायित्व पनि बहन गर्नुपर्छ ।
पछिल्ला वर्षहरूमा चिकित्सक र सरकारबीचको सम्बन्ध पटक–पटक तनावपूर्ण बनेको देखियो ।

कहिले आन्दोलन, कहिले सेवा अवरोध, कहिले सुरक्षाको माग त कहिले नीतिगत असन्तुष्टि । अबको नेतृत्वले संघर्ष मात्र होइन, संवाद र सहकार्यको संस्कृति विकास गर्न सक्नुपर्छ । सरकारसँग समन्वय गर्दै स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने दिशामा ठोस पहल आवश्यक छ । चिकित्सक संघको इतिहास केवल पेसागत राजनीति होइन, सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ । महामारी, विपद् र स्वास्थ्य संकटका बेला चिकित्सक समुदायले खेलेको भूमिका नेपाली समाजले कहिल्यै बिर्सन सक्दैन ।

त्यसैले संघको नयाँ नेतृत्वले व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठेर चिकित्सा पेसाको मर्यादा, जनविश्वास र मानवीय सेवाको मूल भावना जोगाउन केन्द्रित हुनुपर्छ ।

चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वास्थ्य संस्थाका साथै बिरामी र बिरामी पक्षको एकताले मात्र बिरामीको सफल उपचार सम्भव छ । यस्तो अवस्थामा कुनै पनि स्वास्थ्यकर्मीले आफूलाई फरक सोच र फरक विचारधाराको रुपमा प्रस्तुत गर्नुहुँदैन । सिर्फ स्वास्थ्यकर्मीको हिसाबले हेरी समयमै रोगको पहिचान गरेर उपचारमा लाग्नु चिकित्सकको धर्म हो ।

त्यसैले चिकित्सक संघजस्तो संस्थाको नेतृत्वले थप जिम्मेवारीपूर्वक सबैलाई एकै थलोमा समेटेर अघि बढ्ने क्षमताको विकास गर्नु आजको आवश्यकता हो । निर्वाचनको प्रतिस्पर्धा अब समाप्त भएको छ । अब शुरु भएको छ– जिम्मेवारीको वास्तविक परीक्षा । नयाँ नेतृत्वले चिकित्सकहरूको साझा भरोसा जित्दै स्वास्थ्य क्षेत्र सुधारको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना !