सम्झानामा शृंगारकर्ता अशोक रोक्का


४ दशकभन्दा लामो समयसम्म पर्दापछाडि बसेर कलाकारको हेरक पात्रलाई जीवन्त बनाउने जादुगरका रूपमा चिनिएका कुशल शृंगारकर्ता अशोक रोक्का अब हामीबीच छैनन्।


रोक्काले गत वैशाख ३ गते बेलुका घट्टेकुलोस्थित एक घरमा अन्तिम श्वास फेरे। गत वैशाख २ गते साथीको घरमा सुतेका उनी बिहान सुतिरहेका होलान् भनेर साथी बाहिर निस्किएका थिए। तर १२ बजेसम्म नउठेपछि प्रहरीलाई खबर गर्दा रोक्का मृत भेटिएका थिए।

प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गरेको थियो। नेपाली फिल्म क्षेत्रमा अविश्मरणीय योगदान पु¥याउदै आएका उनी धेरै शृंगारकर्ताका गुरु थिए। ‘उहा जस्तो कलाको धनीलाई गुमाउनुपर्दा नेपाली फिल्म क्षेत्रले ठूलो क्षति व्यहोरेको छ’ नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा भन्छन्।

२०२१ साल असार २० गते भक्तपुरको दुवाकोटमा जन्मिएका रोक्का २०४१ सालदेखि नेपाली फिलम क्षेत्रमा सक्रिय रहदै आएका थिए। उनले आफ्नो करिअरमा एक सयभन्दा बढी फिल्ममा आफ्नो सीप र समर्पण सुम्पिएका थिए। ज्वाला, अल्लारे, आफ्नो मान्छे, चादनी, अर्जुन, देवता, आदिकवि भानुभक्त, नासो, नाइ नभन्नू ल, चिनो, धर्मसंकट, मायाजबारजस्ता थुप्रै फिल्ममा उनको हातले सिंगारिएका पात्रले दर्शकको मन जित्दै आएको थियो।

नेपाल टेलिभिजनको लोकप्रिय टेलिसिरियल चक्रब्यूहबाट सुरु भएको उनको यात्रा केवल पेशागत सफलता मात्र थिएन, एउटा साधना थियो—मेकअपलाई कला, श्रद्धा र आत्मासग जोडेर हेर्ने एक अद्वितीय दृष्टिकोण थियो। निधनको केही दिन अघिसम्म म्युजिक भिडियोमा काम गरेका उनको अनुशासन, विनम्रता र कामप्रतिको निष्ठाले उनलाई केवल सफल मेकअप आर्टिस्ट मात्र होइन, नया पुस्ताका लागि प्रेरणाको स्रोत बनाएको थियो।

उनको बिदाइसगै नेपाली फिल्म क्षेत्रले एक अनुभवी, सरल र कर्तव्यनिष्ठ सर्जक गुमाएको छ—जसको अभाव कहिल्यै पूर्ति हुन सक्दैन।