आधुनिक फुटबलको इतिहासमा सन् २००६ को विश्वकप केवल एक खेल प्रतियोगिता मात्र थिएन । मानवीय साहस, दृढ इच्छाशक्ति र विज्ञानको सीमालाई चुनौती दिने एक अविश्वसनीय पुनरागमनको उदाहरण पनि थियो । जसको केन्द्रमा थिए, इटालीका महान खेलाडी फ्रान्सेस्को टोट्टी । उनले आफ्नो खेल जीवन समाप्त हुनै लाग्दा मृत्युतुल्य पीडा र शारीरिक असक्षमतालाई जितेर विश्वकपको ट्रफी उचालेका थिए । १९ फेब्रुअरी २००६ को त्यो दिन, जब एम्पोली विरुद्धको सिरिए ए खेलमा विपक्षी खेलाडी रिचर्ड भानिग्लीको एउटा भयानक ट्याकलले टोट्टीको देब्रे खुट्टा छियाछिया पारिदियो, सारा फुटबल जगत स्तब्ध भयो । उनको फिलाको हड्डी (फिबुला) नराम्ररी भाँचिएको थियो र खुट्टाका लिगामेन्टहरू पूर्ण रूपमा च्यातिएका थिए । मैदानमा लड्दा सुरुमा उनले केही महसुस गरेनन्, किनकि उनको स्नायु प्रणाली नै विच्छेद भइसकेको थियो । तर, जब उनले आ्फ्नै खुट्टा लल्याकलुलुक भएको देखे, सारा इटालीयन समर्थकको मुटु थर्कियो ।
विश्वकप आउन केही महिना मात्र बाँकी छँदा इटालीको सबैभन्दा ठूलो आशा र भरपर्दो ‘इल् क्यापिटानो’ अस्पतालको शैयामा पुग्नु राष्ट्रिय शोक जस्तै बनेको थियो । अस्पतालमा चिकित्सकहरूले टोट्टीको खुट्टालाई पुनः जोड्न १३ वटा धातुका स्क्रू र एउटा स्टिलको प्लेट प्रयोग गरेर दुई घण्टा लामो जटिल शल्यक्रिया गरे । चिकित्सा विज्ञानका अनुसार त्यति गम्भीर चोटबाट निको भएर व्यावसायिक फुटबलमा फर्कन वर्षौँ लाग्थ्यो । कतिपयले त उनको करियर नै समाप्त भएको आंकलनसमेत गरिसकेका थिए । तर, टोट्टीको शरीर आत्मविश्वासको अटुट भण्डारले भरिएको थियो । उनले हार स्वीकार्नुको सट्टा समयसँग युद्ध लड्ने निर्णय गरे । शल्यक्रियाको केही दिनमै उनले दिनको आठ घण्टाभन्दा बढी समय कडा पुनस्र्थापना (रिह्याबिलेसन) मा बिताउन सुरु गरे । खुट्टाको घाउलाई संक्रमणबाट जोगाउन प्लास्टिकले बाँधेर स्विमिङ पुलभित्र व्यायाम गर्नेदेखि लिएर आँसु झर्ने पीडादायी फिजियोथेरापीसम्म, उनले असम्भवलाई सम्भव बनाउन आफ्नो शरीरको अन्तिम थोपा पसिना बगाए ।

उक्त कठिन यात्रामा इटालीका तत्कालीन प्रशिक्षक मार्सेलो लिप्पीको विश्वास टोट्टीका लागि संजीवनी बुटी बन्यो । लिप्पीले “टोटीको स्थानमा खेल्न सक्ने अर्को कुनै खेलाडी संसारमा छैन” भनेर स्पष्ट शब्दमा भनेका थिए । उनले टोट्टी पूर्ण फिट नभए पनि टोलीमा एउटा सिट सुरक्षित राखिदिए । मे महिनाको अन्त्यसम्म आइपुग्दा टोट्टीले आफ्नो दृढ संकल्पले चिकित्सकहरूलाई समेत चकित तुल्याउँदै पुनः मैदानमा पाइला टेके । उनले आफ्ना आलोचकहरूलाई उनी रोमका ‘ग्लाडिएटर’ मात्र होइनन्, विश्वकै सर्वश्रेष्ठ योद्धा पनि हुन् भनेर प्रमाणित गरिदिए । त्यसो त रियल मेड्रिड जस्तो विश्वकै ठूलो र धनवान क्लबको आकर्षक प्रस्तावलाई लत्याएर त्यसअघि नै आफ्नो सानैदेखिको क्लब एएस रोमाप्रति देखाएको निष्ठाले उनलाई पहिले नै महान बनाइसकेको थियो । अब भने उनलाई आफ्नो देशलाई चौथो पटक विश्व विजेता बनाउनु थियो ।
सन् २००६ को विश्वकप सुरु भयो, तर टोट्टीको खुट्टामा अझै पनि ती धातुका स्क्रू र प्लेटहरू छँदै थिए । हरेक पाइलामा उनले झिनो पीडा महसुस गर्थे । तर, उनको मानसिक शक्ति यति प्रबल थियो कि त्यसले शारीरिक कष्टलाई छायामा पारिदियो । घाना विरुद्धको पहिलो खेलमै उनले १८ वटा महत्वपूर्ण पासहरू दिएर उनी आपूm पुरानै लयको फर्केको संकेत दिए । प्रतियोगिताको सबैभन्दा नाटकीय मोड अष्ट्रेलिया विरुद्धको ‘राउन्ड अफ १६’ को खेलमा आयो । १० जना खेलाडीमा सीमित इटाली हारको सँघारमा पुगेको बेला खेलको अन्तिम सेकेन्डमा पेनाल्टी प्राप्त भयो । सारा विश्वको नजर टोट्टी माथि थियो र दबाबको पहाड उनको काँधमा । यदि त्यो पेनाल्टी मिस भएको भए इटालीको यात्रा समाप्त हुने थियो र टोट्टीको संघर्षमाथि प्रश्न उठ्ने थियो । तर, उनले आँखा चिम्लेर एक पटक गहिरो सास फेरे, अनि यस्तो शक्तिशाली प्रहार गरे कि बलले नेटको जाली चुम्दा सारा इटाली हर्षले गदगद भयो । त्यो गोल उनको पुनर्जन्मको उत्सव र दृढताको विजय पनि थियो । गोल गरेपछि उनले आफ्नो औँला मुखमा राखेर गरेको प्रख्यात सेलिब्रेशनले “रोमको राजा“ फर्किसकेको सन्देश विश्वभर फैलियो ।
पुरै विश्वकप अवधिभर टोट्टीले कुल चारवटा ‘असिस्ट’ गरे, जुन त्यस प्रतियोगितामा कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै असिस्ट थियो । सेमिफाइनलमा आयोजक जर्मनी विरुद्धको रोमाञ्चक खेल होस् वा फाइनलमा फ्रान्स विरुद्धको महाभिडन्त, टोट्टी इटालीको आक्रमणको मुख्य मेरुदण्ड बनेर उभिए । फाइनल खेलमा फ्रान्सको बलियो मिडफिल्ड र जिनेदिन जिदान जस्ता दिग्गजहरूसँग भिड्दा टोट्टीको शरीरले आफ्नो सीमा नाघिसकेको थियो । शल्यक्रियाको मात्र केही महिनाभित्रै ४६८ मिनेटको उच्च प्रतिस्पर्धात्मक फुटबल खेल्नु कुनै चमत्कारभन्दा कम थिएन । जब फाबियो ग्रोसोले अन्तिम पेनाल्टी प्रहार गर्दै इटालीलाई चौथो पटक विश्व विजेता बनाए, टोट्टी मैदानको बीचमा घुँडा टेकेर भक्कानिए । उनका ती आँसु खुसीका मात्र थिएनन्, ती त महिनौँको पीडा, आलोचना र संघर्षको विसर्जनका आँसु थिए ।
उक्त ऐतिहासिक जित केवल टोट्टीको व्यक्तिगत सफलता मात्र थिएन, दृढ इच्छाशक्ति र कहिल्यै नहार्ने मानवीय स्वभावको जित पनि थियो । गम्भीर चोटले अपाङ्ग बनाउन सक्ने अवस्थाबाट उठेर, खुट्टामा स्टिलका टुक्राहरू बोकेर देशलाई विश्वकप जिताउनु फुटबल इतिहासकै सबैभन्दा प्रेरणादायी र भावनात्मक घटना मानिन्छ । उनले त्यस लगत्तै सुरु भएको फुटबल सिजनमा युरोपको सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन शू’ समेत जितेर आफूलाई आधुनिक युगको ‘सिजर’ को रूपमा स्थापित गरे । फ्रान्सेस्को टोट्टीको यो यात्राले संसारलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ । यदि मनमा साहस, लक्ष्यप्रति इमानदारीता र आफूमाथि विश्वास छ भने शरीरका घाउहरू र विज्ञानका सीमितताहरूले सफलताको बाटो कहिल्यै रोक्न सक्दैनन् ।











प्रतिक्रिया