नेपालमा पहिलो पटक वन विज्ञान पढ्ने दुई विद्यार्थीलाई हरित छात्रवृत्ती

470
Shares

उदयपुर ।

उदयपुरमा वन विज्ञान अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी “हरित छात्रवृत्ति वितरण” सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालयको सभा हलमा मंगलबार आयोजित उक्त कार्यक्रममा वन विज्ञान विषयमा स्नातक तहमा अध्ययनरत छात्र–छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

वन विज्ञान क्याम्पस हटौडामा बीएससी फोरेष्ट्री अध्ययनरत त्रियुगा नगरपालिका वडा नं. १३ का विद्यार्थी विनय कुमार मन्सापुरिया तथा प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीमा अध्ययनरत त्रियुगा नगरपालिका वडा नं. १२ की विद्यार्थी अभिप्सा बस्नेतलाई जनही ३४ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्ति प्राप्त गरेपछि दुवै विद्यार्थीहरूले यस सहयोगले आफ्नो अध्ययनलाई थप मजबुत बनाउन मद्दत पुग्ने र भविष्यमा वन तथा वातावरण संरक्षणमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

छात्रवृत्ती कार्यक्रमको समन्वय तथा सहजीकरण डिभिजन वन कार्यालय उदयपुर र सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरले गरेको थियो । झण्डीडाँडा सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका वडा नं. १४ र १५ ले छात्रवृत्ती रकम प्रदान गरेको डिभिजन वन कार्यालयले उदयपुर गाईघाटले जनाएको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूह महासंघ उदयपुरका जिल्ला अध्यक्ष कुशलबाबु बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

उहाँले नेपालमै पहिलो पटक यस प्रकारको “हरित छात्रवृत्ति कार्यक्रम” सञ्चालन गरिएको उल्लेख गर्दै यसले वन विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूलाई थप प्रेरणा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमहरूले वन संरक्षण, दिगो व्यवस्थापन तथा वातावरणीय चेतना अभिवृद्धिमा दीर्घकालीन योगदान पु¥याउनेछन् ।

कार्यक्रममा आर्थिक सहयोग गर्ने झण्डीडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल मगरले डिभिजन वन कार्यालयसँगको सहकार्यमा वन तथा वातावरण संरक्षणका गतिविधिहरूमा सहभागी हुन पाउँदा आफू र आफ्नो समूह अत्यन्तै खुशी भएको बताउनु भयो । उहाँले स्थानीय स्तरमै यस्ता कार्यक्रमहरू विस्तार गरिनुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत जागेश्वर साहले गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका सचिव तुलसी कोइराला, विभिन्न छिमेकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरू, वन प्राविधिकहरू, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमले वन विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन दिनुका साथै स्थानीय समुदाय, वन कार्यालय र उपभोक्ता समूहबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। सहभागीहरूले यस कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै अझ बढी विद्यार्थीहरूलाई समेट्ने सुझाव समेत दिएका थिए ।