छापा मारीएकोप्रति मुख्यमन्त्री बानियाँको आपत्ति, भने- चरित्रमा आघात पुग्यो


काठमाडौँ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा गरिएको छापामारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले हेटौँडा र काठमाडौँस्थित आफ्ना निवास तथा विगतमा संलग्न रहेको निर्माण कम्पनीको कार्यालयमा छापा मारिएको उल्लेख गर्दै उक्त कार्यप्रति आपत्ति व्यक्त गरेका हुन्।

मुख्यमन्त्री बानियाँले आफू नेतृत्वमा आएदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको बताएका छन्। उनले प्रदेश सरकारको खर्च कटौती, आर्थिक मितव्ययिता तथा योजनाहरूको औचित्य र पारदर्शितामा विशेष ध्यान दिइएको उल्लेख गरे।

उनका अनुसार, राज्यका जुनसुकै निकायले गर्ने अनुसन्धानप्रति आफू सकारात्मक रहेको र आवश्यक परे भौतिक रूपमा उपस्थित भएर सहयोग गर्न तयार रहेको बताए। तर, पूर्व जानकारीबिना गरिएको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक छविमा असर पुगेको महसुस भएको उनको भनाइ छ।

मुख्यमन्त्री बानियाँले संवैधानिक तथा कानुनी दायराभित्र हुने अनुसन्धानमा पूर्ण सहयोग रहने स्पष्ट पार्दै नागरिक तथा शुभेच्छुकलाई भ्रमित नहुन आग्रह गरेका छन्। उनले आफू सधैँ जनताको सेवामा समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।