रुकुम पश्चिम।
रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा गत बिहीबार भएको जीप दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वका एकै परिवारका छ जनाको सामूहिक दाहसंस्कार गरिएको छ।
आज सानीभेरी नदी किनार, धाउने बगरमा मृतकहरूको अन्त्येष्टि गरिएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा सिस्ने गाउँपालिका–६ टाकुराका २८ वर्षीया युवा बुढाथोकी, उनका १० वर्षीय छोरा दिव्यान बुढाथोकी, ५३ वर्षीया सासुआमा तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० वर्षीया कान्छी सासुआमा ओमकुमारी बुढाथोकी र ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकी रहेका छन्।
युवाका श्रीमान् दीपक बुढाथोकी अमेरिकाबाट फर्किएपछि आज अन्त्येष्टि गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिएका छन्।
पूर्णिमाका अवसरमा रोल्पाको जलजलामा लाग्ने पूजामा सहभागी हुन बुढाथोकी परिवार रुकुमकोटबाट गएका थिए। तर, गन्तव्य नपुग्दै उनीहरू सवार जीप दुर्घटनामा परेको थियो।
दुर्घटनामा २० जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए। यसअघि १४ जनाको दाहसंस्कार गत शनिबार नै गरिएको थियो।











प्रतिक्रिया