संकटालाई हराउँदै आर्मी फाइनलमा


पोखरा ।

त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो ।

आर्मीको जितमा चन्द्रा भण्डारीले दुई तथा दिपा शाही र हिमा चौधरीले एक–एक गोल गरिन् । संकटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र लिसिया एल जे मोकाम्बिकले गोल गोल गरिन् । आर्मीले फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस आयोजक आरएस पोखरा फुटबल क्लबलाई ८–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल आज २ बजे हुनेछ ।प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने छन् । गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक पोखरामा महिला गोल्डकपको आयोजना गरिएको आयोजकको दाबी छ । प्रतियोगितामा कुल चार टोलीको सहभागिता रहेको हो ।