खोटाङ ।
खोटाङका तीन स्थानीय तहका विद्यालयहरुमा आईतबार पनि पठनपाठन सञ्चालन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन गराउने निर्णय गरेको हो ।
संघीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिए पनि जिल्लाका तीन स्थानीय तहले उक्त निर्णय गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैशाख–१२ गते बसेको कार्यपालिका बैठकबाट सो निर्णय गरेको जनाएको छ । विद्यमान पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न नसकिने भन्दै आइतबार पनि पठनपाठन गराउने निर्णय गरिएको जनाइएको छ ।
वैशाख–१५ गते भर्ना सुरु गर्नुका साथै विद्यालयसमेत सञ्चालन गरिने नगरप्रमुख तीर्थराज भट्टराइले बताउनुभयो । नगरपालिकाभित्र ८६ वटा सामुदायिक र ११ वटा निजी विद्यालय छन् । २०८२ मा पालिकाभरि तीन हजार ८ सय ३६ विद्यार्थी संख्या रहेको नगरपालिकाले जनाएको छ । उता, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वैशाख–११ गते बसेको गाउँ कार्यपालिका बैठकले आईतवार पनि पठनपाठन गराउने निर्णय गराएको हो ।
सो पालिकाले पनि पाठ्यभार पूरा गर्न नसकिने निष्कर्षसहित बिदा कटौती गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जनाउनुभयो । संघीय सरकारले वैशाख–१५ गतेबाट भर्ना अभियान र वैशाख–२१ गतेबाट पठनपाठन सुरु गर्न निर्देशन दिए पनि वैशाख–१५ गतेबाटै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता भूपेन्द्र बस्नेतले बताउनुभयो ।
यसअघि खोटेहाङ गाउँपालिकाले पनि वैशाख–१० गतेसम्म भर्ना अभियान सञ्चालन गरेर वैशाख–१३ गतेदेखि पठनपाठन सुरु गरिसकेको छ । यस्तै, सरकारी कार्यालयमा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशनलाई पनि हाललाई कार्यान्वयन नगर्ने निर्णय गरिएको उक्त गाउँपालिकाले जनाएको छ ।।











प्रतिक्रिया