वाम एकताका कुरा

564
Shares

वर्तमानको राजनीतिक वृत्तमा वाम एकताका कुरा उठ्दै गरेको पाइन्छ । तर जनताले नजानेको विषय यो छ कि वाम एकता के वा कसका लागि ? सत्ताबाहिर बस्नुपरेको मात्र नभई विगतमा शासन सत्ताको मदले मैमत्त भएर गरिएका कुकर्मको फल भोग्दै गर्दाको पीडालाई थोरै भए पनि साम्य बनाउनको लागि वाम एकता ? शासन सत्तामा रहँदा चाकरी गरेर खान पाउनेहरुको वर्तमानको किचकिच वा बेवास्तालाई साम्य पार्न वा ध्यान दिन लगाउनको लागि वाम एकता वा अरु केका लागि वाम एकता ? यत्तिका वर्ष आलोपालोको शासन चलाउँदा वाम एकताको कुरो उठेको थिएन ।

यदाकदा उठे पनि देश र जनताको भलाइका कामका विषयलाई लिएर वाम एकताको उद्देश्य वा विचार कुनै पनि वामपन्थ नेताको गिदीमा फुरेको र त्यसलाई कार्यान्वयन गराउने पक्षमा लागेको अनि वाम एकताबाट कुनै ऐतिहासिक काम गर्न सकेको पाइएन त । केवल सत्ताको गठजोड र भागवण्डाका लागि गरिने र विगतमा गरिएका वाम एकताका प्रयासहरुले कुनै अर्थ राखेका छैनन् ।

साँचो अर्थमा भन्ने हो भने, निरङ्कुश वा मनपर्दी शासन गर्ने राजा वा शासकलाई तह लगाउन वा जनताप्रति उत्तरदायी शासक बनाउनको ध्येयले वामपन्थ वा कम्युनिस्ट पार्टीहरू स्थापित भएका होलान् । अरू कसैलाई तहमा ल्याउनको लागि र जनउत्तरदायी बनाउनको लागि आफू कडा अनुशासनमा रहेको हुनुपर्छ । संसारमा थोरै मात्रमा मात्र वामपन्थी राजनीतिक दलहरूको प्रभाव जमेको छ ।

नेपालका वामपन्थी वा कम्युनिस्ट भनिएका राजनीतिक दलहरूमा सच्चा कम्युनिस्ट वा सच्चा वामपन्थमा हुनुपर्ने धेरै थरीका गुणमध्ये एक गुण पनि छैन । यदि ती गुणमध्ये केही प्रतिशत गुण कायम रहेको भए वामपन्थहरू यसरी ओरालो लागेर जाने अवस्थामा हुने थिएनन् । हाल हाम्रो राजनीतिक परिवेशमा राजसंस्था हाबी छैन । निरङ्कुश राजतन्त्र वा हुकुमी शासन कायम हुने अवस्था किमार्थ आउने छैन । किनभने अबको जनताको शक्तिले विनानेतृत्व नै भए पनि निरङ्कुशतन्त्रलाई सजिलै घुँडा टोकाउने र धराशायी बनाउने सामथ्र्य राख्छ ।

अर्को कुरो, हाम्रो देशको सन्दर्भमा भन्ने हो भने अबका दुई दशक वर्षको समयका लागि आम जनताको मानसपटलबाट विश्वास गुमाइसकेको अवस्था विद्यमान छ । भन्नुको अर्थ के भने, नेपाली वामपन्थीहरुले नेपाली जनताको विश्वास जित्नु छ भने अबका बीस वर्षसम्म शासन सत्ताको लिस्नु नचढेरै निःस्वार्थ भावले देश र जनताको भलाइका काम गरी देखाउन सकेको खण्डमा मात्र विगत मनमोहन अधिकारी, कमरेड पुष्पलाल वामपन्थ कालीन विश्वास फर्काउन सकिनेछ । तर आजको वामपन्थ राजनीतिमा त्यो विश्वास कहाँ पाउनु ?

आजको वामपन्थ राजनीति केवल पैसाको राजनीति, धनको बलमा दबिएको राजनीति, जनतालाई धोका दिएर फसाउने राजनीति, आफू व्यक्ति कसरी धनी बन्ने र देशलाई कसरी टाट पल्टाएर कङ्गाल बनाउने भन्ने सोचको फोहोरी वा गन्हाउने राजनीति मात्र बाँकी रहेको छ ।

राजनीति भनेको केवल एक वा केही नेतृत्वको भरमा मात्र हुने वा गरिने क्रियाकलाप पटक्कै होइन । यो त आम जनताको सहज सहभागितामा, योगदानमा ,श्रममा, विश्वासमा अडिने विषय हो । तर हाम्रो वामपन्थ राजनीतिमा परिश्रम गरेर योगदान दिनेको भन्दा जनता र देश लुटेर शीर्ष नेतालाई अधिक नजराना चढाउन सक्ने नेताको वा राजनीतिक कर्मीको अधिक सम्मान हुने गरेको छ । जनता र देश लुट्न नसक्ने अनि जनतालाई माया गर्नेको कुनै मानभाउ त होइन, दर्जा घटुवा गरेर भए पनि तल गिराउने फोहोरी खेल खेल्ने गरिन्छ ।

जनता र देशको उन्नतिका लागि केही योगदान दिन्छु वा गर्छु भनेर एउटा सङ्कल्पका साथ वामपन्थ राजनीतिमा प्रवेश गरेको एउटा व्यक्ति त्यहाँबाट रोएर पलायन हुन बाध्य बन्नुपर्छ । उसको चाहना आफ्नो सर्वोच्च नेताले सादगी र आदर्श जीवन बिताउन खोज्ने खालको होस् । देश र जनताको खातिर सदैव काम गर्ने खालको होस् आदि । तर नेपालको वामपन्थ राजनीतिमा त्यस्तो स्वच्छ विचारधाराको कुनै कदर हुनेवाला छैन । नेपाली वामपन्थी नेतृत्व भनेको विदेशीको साँचो नोकरभन्दा अरू केही होइन । वामपन्थी नेतृत्वले आफूदेखि आफ्ना इमानदार कार्यकर्तालाई समेत स्वच्छ विचारधाराको रहन नदिएर दूषित बनाएरै छोड्छ ।

आजको वाम एकताको उद्देश्य भनेको वर्तमानको जेनजी सरकारलाई हरतरहले सफल बनाएर अगाडि बढाउनु हो । यत्रि मात्र नभई सरकारले पाँच वर्षको समयावधिमा के–के राम्रा काम (जनता र देशलाई फाइदा पुग्ने काम) गर्न चाहेको छ ? त्यसैमा होस्टेमाथि हैँसे थपेर अगाडि बढ्नुको विकल्प छैन । तर वामपन्थी राजनीतिक दलको पापी बुझाइअनुसार भन्ने हो भने, वर्तमानको लोकप्रिय सरकारलाई वाम एकता गरेरै भए पनि अनेक तरिकाले घुँडा टेकाउन सकिएला भन्ने ध्याउन्न रहेको छ । विगतको वामपन्थ सत्ताको दिक्क लाग्दो भाषण, आश्वासन, अविश्वासको वातावरण आदिबाट मुक्त भएका नेपाली जनताको अहिलेको ध्यान केवल बालेन नेतृत्वको सरकारको कार्यशैलीप्रति खिचिएको छ । त्यहाँ केही आशा, विश्वास र भरोसा मिसिएर रहेको छ ।

लामो समय सत्ताको कुर्सीमा आसीन भएको राजनीतिक दलले असीमित मात्रामा राजनीतिक फोहोर जम्मा गरेको हुन्छ । उसको अवसान भएपछिका दिनमा मात्र आम जनतालाई समेत उक्त फोहोरको फेहरिस्तबारे थाहा हुन्छ । त्यस बेलासम्म पनि जनता र देशको भलाइ सोच्ने कार्यकर्ता थोरै मात्र रहेका रहेछन् भने उनीहरूको मानसमा उक्त फोहोर, आफ्नो राजनीतिक दल अनि आफ्नै राजनीतिक दलको नेताप्रति सम्मान होइन, घृणाको भावना उत्पन्न हुन थाल्छ ।

हालका नेपाली वामपन्थी दलहरुप्रतिको आम नेपाली जनताको भावना पनि सोही अनुसार घृणाले भरिएको छ । केवल अन्धभक्त कार्यकर्ताबाहेक अरु सबै कार्यकर्ता र जनताका मानसमा समेत घृणाको भावना पलाएको छ । किनभने उनीहरु जसले कार्यकर्ता र जनतालाई निर्देश गर्नेहरूले नै सबैभन्दा धेरै राजनीतिक फोहोरको डङ्गुर थुपारेका रहेछन् र हामीलाई समेत प्रदूषित बनाइरहेका रहेछन् भन्ने कुरा जनताले अनि स्वाभिमानी कार्यकर्ताले बुझेका कुरा हुन् । फेरि विगतकै बाटो सुचारु गर्ने र एक–अर्काका चह¥याउँदै गरेका घाउमा मलहम पट्टी लगाउने विषयमा वाम एकता सान्दर्भिक हुने देखिन्छ ।

साँच्चै वाम एकता हुन्छ वा गरिन्छ, यसअगाडि शीर्ष स्थान ओगटेर पनि देशको अथाह सम्पत्तिको दुरुपयोग गरी मोटाएकाहरुले आउँदा दिनदेखि यस्ता अपराधले भरिएका काम नगर्नको लागि हौसला दिने काम गरियो भने मात्र वाम एकताको सान्दर्भिकता स्पष्ट हुनेछ । वामपन्थ भन्नाले हाम्रो देशको सन्दर्भमा कम्युनिस्ट भनेर चिनिन्छ । कम्युनिस्ट बन्नको लागि धेरै थरीका नियमभित्र बिरामीले पथपरहेजमा रहेजसरी नै रहनुपर्ने हुन्छ ।

बाहिर देखावटीभन्दा पनि हृदयभित्रबाट कम्युनिस्ट व्यवहार अपनाउने मान्छे मात्र सच्चा कम्युनिस्ट बन्न सक्छ । आजको वाम एकताले सत्ता कसरी हासिल गर्ने भन्ने पीडाबोधका कथा सुनाएर युवा कार्यकर्ताको मानसमा सत्तामोहको तृष्णा भर्नुको साटो त्यागी कम्युनिस्ट बन्ने पाठ पढाउन सकेको खण्डमा मात्र पछि गएर साँचो वामपन्थी वा साँचो कम्युनिस्ट पार्टी बन्ला कि भन्ने सम्भावना रहन्छ ।

आजको वाम एकताको मूल आधार भनेको निरन्तर ओरालो यात्रामा लागेका वाम राजनीतिक दलहरुलाई कसरी सबल बनाउने भन्ने कुराको सही खोजी वा चिन्तन हो ।

आजका बूढा पुस्ताका वामपन्थहरुले वामपन्थलाई रसातलमा भसाएको अवस्थामा पु¥याएका छन् । त्यसलाई रसातलबाट निकालेर जनताको प्यारो र लोकप्रिय राजनीतिक दलको रुपमा विकास गर्नुपर्ने दायित्व भनेको आजका युवा कार्यकर्ताको काँधको जिम्मेवारी बनेको छ । आज वाम एकता गरेर पनि तिनै पुराना र काम नलाग्ने नेताको मियोमा युवालाई बाँधी वाम पार्टीलाई हाँक्न खोजेको खण्डमा वाम पार्टी अझै तल भासिने सम्भावना प्रबल रहेको छ ।

कुनै पनि राजनीतिक दलको स्थापना हुँदै गर्दाको क्षण आम जनताको मानसमा के कुरा फुरेको हुन्छ भने, स्थापित हुँदै गरेको यस राजनीतिक दलले देश र जनताका लागि महत्वपूर्ण काम गरेर लोकप्रिय बन्नेछ, हामी नेपाली पनि संसारका अरु विकसित देशजस्तै विकसित बन्नेछौँ । तर राजनीतिक दलका सञ्चालकले त्यसलाई कसरी हाँकेर लैजान सक्छन् ? आम जनताको मन जित्न सक्छन् या सक्दैनन् ? देशको हितका बारेमा के–कस्ता काम गर्न सक्छन् ? आदि कुराले उक्त राजनीतिक दलको लोकप्रियता बढाउँछ वा घटाउँछ वा सस्तो लोकप्रियता मात्र हो कि आदि मापनका आधार रहेका हुन्छन् ।

तिनै आधारका जगमा मापन गर्दा राजनीतिक दल उकालो लागेर शिखरतिर पुग्दै छ कि ओरालो लागेर भासतिर जाँदै छ ? भन्ने कुरा थाहा हुन्छ । नेपालका वामपन्थी राजनीतिक दलहरु विभिन्न किचलोका कारण बेला–बेलामा फुटेर टुक्रा बन्दै र कमजोर हुँदै आएका कारण राजनीतिमा हस्तक्षेप जमाए पनि लोकहितका काममा भने उल्लेख्य भूमिका खेल्न असमर्थ रहेका छन् । शीर्ष नेतृत्वको अहङ्कारले गर्दा पनि वाम पार्टीलाई निकै आघात परेको हुनाले माथि उठ्न सक्ने क्षमता क्रमशः कमजोर बन्दै गएको देखिन्छ ।

राजनीतिक दलभित्रैका गुट, उपगुट आदिले पनि एकजुट भएर आफ्नो राजनीतिक दललाई हाँक्ने कुरामा अवरोध खडा गरेको हुन्छ । अहिलेभन्दा दुई दशकअगाडि त्यति धेरै लोकप्रिय रहेको र करोड जनताको विश्वास एवं भरोसा भएको वामपन्थी राजनीतिक दल जसले दब वर्ष लामो युद्ध चलाएको थियो भने आज त्यही राजनीतिक दलको फागुनको चुनावपछिको अवस्था आँकलन गर्दा दयनीय अवस्थामा पुगेको छ । आज वामपन्थ एकताको रट लगाइरहँदा यी तीता यथार्थलाई भुल्न मिल्छ कि मिल्दैन भन्ने कुरा ती राजनीतिक दल हाँक्ने शीर्ष नेतालाई थाहा नभएको हुँदैन । आखिर वाम एकता किन र कसका लागि गरिँदै छ ? वाम एकताले देश र नेपाली जनतालाई के उपहार दिन सक्ला ? कुनै उपहार दिन नसक्ने हो भने वाम एकताको औचित्य के हो त ?