बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक कार्यक्रम सम्पन्न


काठमाडौँ।

गोदावरी नगरपालिका–१४ ठैवस्थित फूल्चोकी माध्यमिक विद्यालयमा कक्षा ११ अन्तर्गत सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक परियोजना कार्य प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजाति र भाषाभाषी समुदायका परम्परागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए। राई, लिम्बू, मगर, नेवारी, नेपाली, तामाङ लगायतका संस्कृतिलाई झल्काउने भेषभूषामा उनीहरूले आकर्षक प्रस्तुति दिएका थिए।

यसै क्रममा विद्यार्थीहरूले १२ वटा भाषामा मन्तव्य प्रस्तुत गर्दै बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा “विविधतामा एकता” कायम गर्न युवाहरूको भूमिकाबारे आफ्ना धारणा राखेका थिए। उराँव, याक्खा, राई, लिम्बू, मगर, नेवारी, थारू लगायतका भाषाको प्रयोग गरिएको थियो।

कार्यक्रम संयोजक तथा विषय शिक्षक नवराज सञ्जेलका अनुसार यस्ता गतिविधिले विद्यार्थीलाई समाजमा सहज रूपमा घुलमिल हुन, जिम्मेवार नागरिक बन्न तथा सामाजिक सीप विकास गर्न सहयोग पुर्‍याउँछ।

विद्यालयले सामाजिक एकता र पारस्परिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई वार्षिक योजनामा समेट्दै आएको जनाएको छ।