भूकम्प जोखिम न्यूनीकरणका उपाय तत्काल आवश्यक : राष्ट्रपति पौडेल


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि जनचेतना फैलाउनु अत्यावश्यक रहेको बताउनुभएको छ। दसौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश जारी गर्दै उहाँले प्रभावकारी पूर्वतयारी, प्रतिकार्य तथा सुरक्षात्मक उपायबारे जनतालाई सचेत गराउन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्नुभयो।

उहाँले विसं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरूको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो। राष्ट्रपतिले भूकम्प प्राकृतिक विपत् भए पनि सुरक्षित निर्माण र सतर्कताबाट क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो।

नेपालको भौगोलिक बनावट र बढ्दो सहरीकरणका कारण जोखिम बढ्दै गएकाले भूकम्प प्रतिरोधात्मक प्रविधि अपनाएर सुरक्षित संरचना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, पुनर्निर्माण कार्यमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।