काठमाडौँ।
काठमाडौंको थली (मुलपानी क्रिकेट ग्राउण्ड) नजिक आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
६० ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै खिइएका तथा अन्य अवस्था ठिक नभएका ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो । अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली काठमाडौंको मुलपानी क्षेत्रमा आज खटिएको थियो ।
त्यस्तै काठमाडौंको बबरमहल सडक खण्डमा आज गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ ओटा सवारी साधनका चालक पनि कारवाहीमा परेका छन् ।
वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ ओटा सवारी साधन फेला परेका हुन् ।











प्रतिक्रिया