अमेरिकाको श्रेभपोर्टमा भीषण गोलीकाण्ड: ८ बालबालिकाको मृत्यु, हमलाकारी प्रहरीको कारबाहीमा मारियो


तस्बिर: रोयटर्स

काठमाडौं ।

अमेरिकाको श्रिभपोर्ट, लुइजियानामा भएको दर्दनाक गोलीकाण्डमा १ देखि १४ वर्ष उमेर समूहका ८ जना बालबालिकाको ज्यान गएको छ। स्थानीय प्रहरीले घटनालाई घरेलु विवादसँग जोडिएको प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५ बजे घटना शुरू भएको थियो। एक जना बन्दुकधारीले अचानक १० जनामाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। गोलीकाण्डपछि हमलाकारी चोरी गरिएको गाडीमा भागेका थिए।

घटनालगत्तै प्रहरीले तीव्र खोजी अभियान सञ्चालन गर्दै संदिग्धलाई पछ्याएको थियो। सो क्रममा प्रहरीले हमलाकारीमाथि गोली प्रहार गर्दा उनी मारिएका छन्।

घटनामा अन्य घाइतेहरूको अवस्था र हमलाकारीको पहिचानबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाले स्थानीय समुदायमा त्रास र शोकको वातावरण सिर्जना गरेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।