च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई हरायो

रुबीनाले लिइन् ४ विकेट


काठमाडौं।

रुवान्डामा शनिबारदेखि सुरु भएकोे आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले युरोपेली टोली इटालीलाई ५० रनले हराएकोे हो । अघिल्लो दिन पहिलो खेलमा नेपाल अमेरिकासँग ४१ रनले पराजित भएको थियो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १२ रन जोेडेको थियो । जवाफमा इटालीले मात्र ६२ रन बनाएको थियो । टोलीका लागि चतुरिका महामालाजेले सर्वाधिक २२ रन योगदान दिइन् भने अरुमा पसीन्दीले १२ रन बनाइन् । नेपाली बलर सामु टिक्न नसक्दा बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपाली बलरहरूले इटालीको ब्याटिङमा पूरै नियन्त्रणमा राखेका थिए । मनिषा उपाध्यायले पहिलो विकेट लिएर नेपाललाई पहिलो सफलता दिलाएकी थिइन् । यसैबीच कविता कुँवरले एकै ओभरमा २ विकेट लिएर इटालीलाई ४ ओभरमा ३÷८ को दयनीय स्थितिमा पु¥याइदिएकी थिइन् ।

यसपछि रुबीनाले घातक बलिङ गरेर ४ विकेट लिँदैं इटालीको हार निश्चित गरेकी थिइन् । उनले २.४ ओभरमा १ मेडनसहित ४ रन मात्रै खर्चेकी थिइन् । उनी प्लेयर अफ द म्याच घोषित भएकी थिइन् । यस्तै, रिया र रचनाले एक एक विकेट हासिल गरे । इटालीकी एक खेलाडी घाइते भएकी हुनाले ब्याटिङ गर्न आएकी थिइनन् ।

नेपालको ब्याटिङमा उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । तर, नेपालका लागि पूजापछि दुबै ओपनर ब्याटर र कप्तान इन्दु बर्मा दोहोरो अंकमा पुगेका थिए । सम्झना खड्काले १६ रन र विन्दु रावलले १५ रनको योगदान दिँदा कप्तान इन्दु १० रनमा आउट भएकी थिइन् ।

अन्यले भने पहिलो खेलमा झैं निरस ब्याटिङ गरे । जसमा, कविता कुँवर (४ रन), कविता जोशी (२ रन), रोमा थापा (०), रुवीना क्षेत्री (५ रन), रचना चौधरी (०) र रिया शर्मा (२ रन) सामेल थिए । यी सबैजनाले कमजोर ब्याटिङ गरिरहँदा अर्को एन्डमा पूजाले रन बटुलिरहेकी थिइन् ।

यसअघिको खेलमा आयोजक टोली रुवान्डाले भानुआटुलाई ४१ रनले पराजित गरेको थियो । पहिलो खेलमा रुवान्डा इटालीसँग पराजित भएको थियो । भानुआटुको यो पहिलो खेल थियो ।