काठमाडौं।
स्वास्थ्य क्षेत्रमा पछिल्लो निर्णयसँगै औषधि व्यवस्था विभागको नेतृत्व परिवर्तन भएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै विभागकी वरिष्ठ अधिकारी शिवानी खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।
मन्त्रालयका अनुसार २७ चैतमा गरिएको निर्णयअनुसार खड्गीलाई तत्काल लागू हुने गरी जिम्मेवारी दिइएको हो । विभागमा कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ रहेकी दशौँ तहकी खड्गी यसअघि वरिष्ठ औषधी व्यवस्थापकका रूपमा कार्यरत थिइन् । लामो अनुभवका कारण उनी विभागीय कामकारबाहीमा दक्ष मानिन्छिन्।
मन्त्रालयले जारी गरेको पत्रमा अर्को व्यवस्था नभएसम्म महानिर्देशकले गर्ने सम्पूर्ण आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्न खड्गीलाई निर्देशन दिइएको छ । पत्र प्राप्त गरेलगत्तै उनले पदभार ग्रहण गरिसकेकी छन् । मन्त्रालयले यसलाई अन्तरिम व्यवस्था भएको जनाएको छ ।
यसअघि २६ चैतमा मन्त्री मेहताले विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालय तानेकी थिइन् । उनीमाथि कानून विपरीत औषधीको मूल्य निर्धारण गरेको आरोप लागेको छ । सो आरोपपछि मन्त्रालयले तत्काल हस्तक्षेप गर्दै उनलाई जिम्मेवारीबाट हटाएको हो । उक्त विषयमा छानबिन गर्न मन्त्रालयले २७ चैतमै अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको भए पनि निर्धारित समयसीमाभित्र काम अघि बढ्न सकेको छैन ।
३० चैतसम्म पनि छानबिन प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसकेको मन्त्रालय स्रोतले जनाएको छ । यसले छानबिनको गति र पारदर्शितामाथि प्रश्न उठाएको छ । औषधी मूल्य निर्धारणजस्तो संवेदनशील विषयमा अनियमितताको आरोप लागेपछि सरकारमाथि नियामक निकायको विश्वसनीयता कायम राख्ने चुनौती थपिएको छ ।
नयाँ नेतृत्वसँगै विभागको कामकारबाही कसरी अगाडि बढ्छ र छानबिन समितिले के निष्कर्ष निकाल्छ भन्ने विषय अहिले सबैको चासोको केन्द्रमा रहेको छ ।











प्रतिक्रिया