काठमाडौं ।
देशमा बढ्दै गएको इन्धन संकटले बढ्दै गएको महँगी र बजार अराजकताले जनताको दैनिकी नै नचल्ने अवस्था आएको छ । खाडी क्षेत्रको भू–राजनीतिक तनाबका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले नेपाली बजारमा महँगी र अराजक अवस्था सिर्जना गरेको छ । मूल्य अस्वाभाविक रूपमा बढाइएको ‘कृत्रिम महँगी’ र ‘ढुवानी सिन्डिकेट’ मार्फत उपभोक्तामाथि शोषण भइरहेको उपभोक्ताले आरोप लगाएका छन् । यसले उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल नियन्त्रण गर्नुपर्ने उपभोक्ता अधिकारवादीले पनि माग गरेका छन् ।
संविधानले सुनिश्चित गरेको उपभोक्ताको हक (धारा ४४) र खाद्यसम्बन्धी हक (धारा ३६) को रक्षा गर्नु सरकारको दायित्व भएको स्मरण गराउँदै उपभोक्तावादी प्रेमलाल महर्जनले मूल्य स्थिरीकरण कोषको प्रभावकारी उपयोग गरी जनतालाई राहत दिनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चले इन्धनको मूल्य सामान्य रूपमा बढ्दा उपभोग्य वस्तुको मूल्य अत्यधिक बढाइएको भन्दै कडा अनुगमनको माग गरेको छ । साथै उपभोक्ता मञ्चले बजारमा बिचौलियाको चलखेल अन्त्य गर्न र तत्काल हस्तक्षेप गर्न तीनै तहका सरकारको सहभागितामा ‘¥यापिड रेस्पोन्स टिम’ परिचालन गर्नुपर्ने सुझाव दिइएको छ । त्यसै गरी दीर्घकालीन समाधानका रूपमा पेट्रोलियममा निर्भरता घटाउन ‘राष्ट्रिय ऊर्जा रणनीति’ तत्काल घोषणा गर्नुपर्ने माग गर्दै विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोगलाई युद्धस्तरमा विस्तार गर्न, भन्सार दर घटाउन तथा स्थानीय तहमार्फत अनुदानमा वितरण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।
मञ्चले डिजेलको मूल्यवृद्धिबाट मारमा परेका किसानका लागि सिँचाइ कुपन वा प्रत्यक्ष नगद अनुदानको व्यवस्था गरी कृषि उत्पादन लागत घटाउने ठोस योजना ल्याउनुपर्नेमा जोड दिँदै स्वदेशी उत्पादन महँगो हुँदा विदेशी वस्तुले बजार कब्जा गरिरहेको अवस्थालाई सुधार्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ ।
मञ्चले न्यून आय भएका तथा दैनिक ज्यालादारी गर्ने वर्गको जीवनयापन संकटमा परेको उल्लेख गर्दै राहत प्याकेजको माग गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था कम्पनीमार्फत ‘राहत खाद्यान्न कार्ड’ वितरण गरी सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनुपर्ने प्रस्ताव गरिएको छ ।
सरकार केवल मूल्यवृद्धिको दर्शक बन्न नहुने भन्दै मञ्चले बजार अराजकता नियन्त्रण गर्न अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।











प्रतिक्रिया