नवलपरासी
बिस्तार एवं निर्माणको क्रममा रहेको बुटवल नारायणगढ सडक अन्तर्गत दाउन्ने पहाडको पूर्वी खण्डमा ३ सय पश्चिममा ७ सय मिटर मात्र ढलान हुन बाँकी रहेको सडक आयोजनाले जनाएको छ ।
सडक बिस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार उकालो र घुमाउरो करिब ४ हजार मिटर सडक मध्ये रिजिट पेभमेन्ट ढलान कार्य पूरा हुन झन्डै ३ सय मिटर बाँकी रहेको छ ।
दाउन्ने पहाडको विश्वकर्मा मन्दिर आसपास बाँकी रहेको ३ सय मिटर सडक ढलान हुनासाथ एकातर्फी भए पनि सडक निर्माणको काम सकिने खनालकाे भनाई रहेको छ ।
इन्जिनियर खनालले बुटवल नारायणगढ महेन्द्र राजमार्ग सडक पूर्वी खण्डको हालसम्म ८० प्रतिसत काम सम्पन्न भई सकेकाे र अरूणखाेला पुल मात्र मुख्य सडकसंग जाेडिन बाँकी रहेको बताए ।
अरूणखाेला पुलमा पनि हाल पश्चिम एसियाली देशहरूमा देखिएकाे असहजताले सडक पिचका लागि आवश्यक बिटुमिन समयमै आईनपुग्दा केही ढिलाई हुन गएकाे हाे ।
खनालका अनुसार यही अप्रिल महिना भित्रै दाउन्ने पहाड पूर्वी खण्डको दुबै तर्फी ढलान सकिने र बिटुमिन अभावले राेकिएकाे अरूणखाेला पुल माथिकाे पिच गर्ने कार्य सम्पन्न भए पछि सडककाे आवागमनामा सहजता आउने छ ।
बिगत लामाे समयदेखि कछुवा गतिमा बिस्तार एवं निर्माण भईरहेकाे बुटबल नारायणगढ फाेरलेन सडक यस पटक भने वर्षा अगावै सम्पन्न हुने कुरामा सडक यात्रु,सवारी चालक तथा स्थानीयहरूले झिनाे आशा लिएका छन् ।
पश्चिम खण्डमा पनि लुम्बिनी र गण्डकी प्रदेशकाे सिमा बिन्दु दाउन्ने सम्म कतै दुई त कतै एक तर्फी ढलान तथा पिचकाे काम भएकाे छ । दाउन्ने मुख्य बजार,पूर्वी ठूलाे माेड छेउछाउ सडक निर्माण कार्य धिमागतिमै रहेको स्थानीय पत्रकार नवीन पाैडेलले बताए ।
सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी विकास खवालका अनुसार पश्चिम खण्डमा हाल सम्मकाे सडक निर्माण भाैतिक प्रगति ८२ र बित्तिय प्रगति ७३ प्रतिसत रहेको छ ।
आउँदाे १५ दिन भित्रै दाउन्ने बजारका २ कलभर्ट र खुर्सानी खाेला नजिककाे ७१ पहिराे बाहेक सम्पूर्ण क्षेत्रमा एकातर्फ ढलानको काम सकिने खवालले बताए ।
जेठ अन्तिम सम्ममा दाउन्नेमा दुई तर्फी नै सडक निर्माणको काम सकिने र बाकी रहेको राेड मार्कीङ, सडक छेउछाउ रूख बिरुवा लगाउने बायाे ईन्जिनियरिङका काम पनि क्रमशः भईनै रहने छ ।

कुल १ सय १३.५३ किलाे मिटर लम्बाइ रहेको याे सडकमा ७० किमि ४ लेनमा स्तराेन्नती,२९ किमीमा ४ लेन सहित थप ६/६ मिटरकाे सर्भिस ट्याक र दाउन्ने पहाड खण्डमा १४ किमि ३ लेनमा सडक बिस्तारकाे जिम्मेवारी निर्माण कम्पनीकाे रहेको बताइन्छ ।
यसै गरि ६४ पुल, ४ सय ७४ कल्भर्ट,१ सय ६.१७ किमि नाली निर्माणका लागि सडक लाई पूर्व र पश्चिम २ खण्डमा बिभाजन गरि सडक स्तराेन्नती गर्न सरकार र निर्माण कम्पनी बीच १९ डिसेम्बर २०१८ मा ठेक्का सम्झाैता भएकाे थियाे ।
पश्चिम खण्डमा ९ मेजर ब्रिज, २ सय ५३ कलभर्ट रहेको र निर्माण चरणमै रहेको दाउन्ने डाडाकाे २ कलभर्टमा पनि आधाआधी काम सकिएकाे बताइन्छ ।
सडक निर्माण कार्य अन्तरगत ९ अर्ब १३ कराेड १८ लाख ९५ हजार ६ सय ३५.५४ रूपैयाँमा ठेक्का लागेकाे पूर्वी खण्डको हाल सम्मकाे भाैतिक प्रगति ८० प्रतिसत रहेको छ भने ७ अर्ब ८६ कराेड ३४ लाख १ हजार २ सय १६.५४ रुपैयाँ लागतको पश्चिम खण्डमा पनि पुल जोड्ने तथा सडक ढलानको कार्य चलिनै रहेको छ ।
बुटवल नारायणगढ सडक बिस्तार आयोजना दुबै खण्डको ठेक्का एउटै निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन लिमिटेड, बेइजिङले लिएको हाे ।
देशकै गाैरवकाे आयोजना मानिने एसियाली विकास बैंककाे ऋण सहयोगमा दक्षिण एसियाली क्षेत्रीय आर्थिक करिडाेरका रूपमा याे सडककाे निर्माण भई रहेको छ ।
सडक निर्माणमा नेपाल सरकार भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय,सडक बिभाग,आयोजना निर्देशनालय एडिबी आयोजना कार्लेयालयहरूले व्यवस्थापकीय सहयोग दिँदै आएका छन् ।











प्रतिक्रिया