ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको निधन


काठमाडौँ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार (वैशाख १) बिहान ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा आइतबार (चैत २९) डिउटी सकेर घर फर्कंदै गर्दा काठमाडौंको तारकेश्वर नगरपालिका–८, डाँडागाउँमा दुर्घटनामा परेका थिए । लामा सवार बा.प्रा ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्रा. ०३–००१ख१७१५ को ट्रकले ठक्कर दिएको थियो ।

ट्रकका चालक मकवानपुरका ३८ वर्षीय आइतराम मोक्तान प्रहरीको नियन्त्रणमा छन् । ०७२ सालमा प्रहरी जवानमा भर्ना भएका लामाले पछि सहायक निरीक्षकमा नाम निकालेका थिए । त्यसपछि निरीक्षकको खुला प्रतिस्पर्धाबाट उनी इन्स्पेक्टर बनेका थिए ।

लामाको स्थायी घर रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ हो । उनको निधनप्रति उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी नवराज अधिकारीले दुःख व्यक्त गरेका छन् ।