काठमाडौं।
नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्व आगामी माघ महिनामा निर्वाचनमार्फत तय हुने भएको छ । आगामी तीन वर्षका लागि संघको नेतृत्व गर्ने कार्यसमितिको छनोटका लागि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम र तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन दुई चरणमा हुनेगरी तालिका तयार गरिएको छ । काठमाडौँ उपत्यकाबाहिर संघका शाखा कार्यालयमा निर्वाचन २ र ३ माघ बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म सञ्चालन हुने छ । यस्तै काठमाडौँ उपत्यका भित्र संघको केन्द्रीय कार्यालयमा निर्वाचन १५, १६ र १७ माघ बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुनेछ ।
केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात प्रदेशबाट उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव र सह कोषाध्यक्ष सहित विभिन्न पदाधिकारीहरू चयन हुनेछन् ।
यसरी चयन हुने पदाधिकारीको संख्या यस प्रकार छः
अध्यक्षः १
वरिष्ठ उपाध्यक्षः १
उपाध्यक्षः ७
महासचिवः १
कोषाध्यक्षः १
सहसचिवः १
सहकोषाध्यक्षः १
सदस्यः ६
यस्तै संघको परिषदका लागि ६० जना सदस्य निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन प्रक्रियाको तयारीका लागि मंसिर २५ गते मतदाताको प्रथम नामावली प्रकाशन, २७ गते नामावलीमाथि दावी–विरोध, २८ गते दावी–विरोधको छानबिन, र २९ गते अन्तिम नामावली प्रकाशन हुने तालिका तय गरिएको छ ।
उम्मेदवारको मनोनयनका लागि मिति पनि सार्वजनिक गरिएको छ । १ पुस मा मनोनयन पत्र वितरण, र २ पुस मा मनोनयन पत्र दर्ता हुने व्यवस्था छ ।
निर्वाचनमा मनोनयन दर्ता शुल्क यसरी तोकिएको छः
अध्यक्ष पदः रु १०,०००
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्षः रु ८,०००
सदस्य पदः रु ५,०००
परिषद् सदस्यः रु १,०००
निर्वाचनको निष्पक्षता र पारदर्शिताका लागि चार सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिका प्रमुख निर्वाचन अधिकृतमा डा प्रणयरत्न शाक्य तोकिएका छन् । साथै, डा विवेक राजभण्डारी, डा अतीत पौडेल र अधिवक्ता बाबुराम अर्याल निर्वाचन अधिकृतका रूपमा नियुक्त भएका छन् ।
निर्वाचन समितिका प्रवक्ताले जनाए अनुसार समान अवसर सुनिश्चित गर्न र मतदान प्रक्रिया सहज बनाउन पूर्ण तयारी भइसकेको छ । उनले उम्मेदवार र मतदातालाई सबै नियम–कानुनको पालना गर्न आह्वान समेत गरे ।
नेपाल चिकित्सक संघको यो निर्वाचन सङ्घको आगामी तीन वर्षको नीति, कार्यक्रम र स्वास्थ्य क्षेत्रमा नेतृत्वको दिशा निर्धारण गर्ने दृष्टिले महत्वपूर्ण हुने जनाइएको छ । स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गर्ने चिकित्सकहरूको संगठनात्मक नेतृत्वको लागि हुने यो निर्वाचनले व्यावसायिक पारदर्शिता र लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया