मायामीको सहज जितमा मेसी नायक


लन्डन, (एजेन्सी)

अमेरिकाको घरेलू फुटबल संरचना मेजर लिग सकर (एमएलएस) को प्लेअफ अन्तर्गत पहिलो चरणको खेलमा इन्टर मायामीले सहज जित हात निकाल्दा मेसी नायक बनेका छन ।

शनिबार बिहान भएको खेलमा मायामीले पाहुना टोली नासभिलेमाथि ३–१ गोलअन्तरको जित निकाल्यो । घरेलु मैदान चेस रंगशालामा भएको सो खेलमा मायामीलाई जिताउने क्रममा कप्तान लियोनल मेसीले नायकी प्रदर्शन गर्दै दुई गोल गरे भने अर्को एक गोलमा योगदान गरे । मायामीले १९औं मिनेटमा मेसीको गोलबाट अग्रता लिएको थियो । लुइस स्वारेजको एरियल पासमा मेसीले पोस्ट नजिकैबाट फ्लाइङ हेडिङमा बललाई गोल पोस्टमा छिराएका थिए । हेडिङबाट विरलै मात्रै गोल गर्ने मेसीले उक्त खेलमा आकर्षक हेडिङ गोल गर्न सफल भए । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । खेलको ६२औं मिनेटमा मेसीले नै चलाखीपूर्वक सिर्जना गरेको अवसरमा टाडेओ एलेन्डेले गोल गरेर अग्रता दोब्बर बनाए ।

त्यसपछि इन्जुरी समयको छैटौं मिनेटमा मेसीले अर्को गोल थपेपछि टिम ३–० ले विजयी भयो । यस खेलमा ११ मिनेट इन्जुरी समय दिइएको थियो । नासभिलेका गोलकिपरको हातबाट बल फुत्किएपछि छेउमै भएका मेसीले खाली पोस्टमा सहजै गोल गरेका थिए । यस खेलमा दुई गोल गरेसँगै मेसीले यस सिजन लिगमा गरेको कुल गोल संख्या ३१ पुगिसकेको छ । साथमा, १६ असिस्टको विशाल रेकर्ड पनि छँदैछ ।

अब मायामीको अर्को खेल नोभेम्बर २ मा नासभिलेसँगै हुनेछ । पहिलो चरणको प्लेअफका दुई टिमले आपसमा तीन म्याच खेल्नेछन । जसमा दुई खेल जित्ने टिम अर्को चरणमा प्रवेश गर्नेछ । पहिलो खेल जितेपछि मायामीले अग्रता लिएको छ । दोस्रो खेल हुँदा नासभिलेमाथि भने जितको ठूलो दवाब रहनेछ ।

Skip This