लिभरपुलले जोटाको परिवारलाई दुई वर्षको तलब दिने


लन्डन, (एजेन्सी)

डियोगो जोटाको निधनपछि उनको क्लब लिभरपुलले उनको परिवारलाई दुई वर्षको तलब उपलब्ध गराउने निर्णय गरेको छ ।
क्लबले दिवंगत खेलाडीको बाँकी सम्झौता अनुसारको सम्पूर्ण रकम उनकी पत्नी र तीन सन्तानलाई दिन लागेको हो । पत्नी रुटे कार्डोसोले जोटासँग मात्र दुई हप्ता अघि विवाह गरेकी थिइन् । क्लबले उनको परिवारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । २८ वर्षीय जोटा र उनका भाइ आन्द्रे सिल्भाको गत बिहीबार बिहान स्पेनको सामोरा सहरमा कार दुर्घटनामा मृत्यु भएको थियो ।

दुर्घटनास्थलमै दुवैको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन् । लिभरपुलसँगको सम्झौता अनुसार जोटाले हरेक हप्ता १ लाख ४० हजार स्टर्लिंग पाउन्ड तलब पाउँथे । पोर्चुगिज पत्रिका रेकर्डका अनुसार जोटाको सम्झौता अझै दुई वर्ष बाँकी थियो । जसको सम्पूर्ण तलब क्लबले परिवारलाई दिने भएको हो । जोटाले सन् २०२० मा वुल्भ्सबाट लिभरपुलमा आवद्ध भई १ सय ८२ म्याच खेलेका थिए । उनको निधनले क्लब र समग्र फुटबल जगतमा शोक छाएको छ । जोटाले केही समयअघि फोक्सोको शल्यक्रिया गराएका कारण डाक्टरहरूले उनलाई इंग्ल्यान्ड फर्कन नदिएको बताइएको छ ।

नयाँ सिजनको पहिलो खेलमा लिभरपुललाई होस्ट गर्न लागिरहेको न्युक्यासल युनाइटेडका समर्थकहरू जोटाको सम्झनामा एक भव्य श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने तयारीमा छन् । ‘न्युक्यासल सपोर्टर्स वल्र्डवाइड’ नामक समूहले दर्शकहरूलाई “यु वील नेभर वाक एलोन” गाउन अपील गरेका छन् । फुटबल जगतका सयौं व्यक्तिहरूले जोटाको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनका साथी खेलाडीहरू रुबेन नेभेस र जोआओ क्यान्सेलो समेत ‘अल–हिलाल’ को फिफा क्लब विश्वकपको खेल अघि एक मिनेटको मौनधारणमा भावुक देखिएका थिए । लिभरपुल क्लब अझै पनि शोकमा रहेको बताइएको छ ।