विदेश मोहको चक्रव्यूह


नेपाली अर्थतन्त्रको पछिल्लो प्रवृत्तिमा एउटा चाखलाग्दो पक्ष देखिएको छ । नेपालबाट विदेश अध्ययन र भ्रमणका लागि अत्यधिक परिमाणमा विदेशी मुद्रा बाहिरिइरहेको तथ्यांकले नेपालको पुँजी पलायनको अवस्थालाई चित्रण गरेको छ । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको गणनात्मक उपलब्धिमा रमाउँदैको अवस्थामा नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले नेपालीहरूद्वारा विदेश भ्रमण तथा अध्ययनमा गर्दै आएको खर्चले गम्भीर नीतिको आवश्यकता औंल्याएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१\८२ को १० महिनामा मात्रै नेपालीहरूले वैदेशिक अध्ययनमा १ खर्ब १२ अर्ब ४४ करोड रुपियाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ८ दशमलव १ प्रतिशतको वृद्धि हो । विदेशमा अध्ययन गर्ने मोह अझै कायम छ, जसले गर्दा आर्थिक वर्षको अन्त्यसम्म यो तथ्यांकको आकार ह्वात्तै माथि पुग्ने निश्चित छ । यो प्रवृत्तिको पछाडि गुणस्तरीय शिक्षा, रोजगारीको सम्भावना र सामाजिक प्रतिष्ठाको खोजी प्रमुख कारक हुन् । तर, यति ठूलो विदेशी मुद्रा बहिर्गमनले नेपालको सेवा खाता असन्तुलित बनाइरहेको छ ।

शिक्षामा मात्रै होइन, पर्यटन क्षेत्रबाट पनि नेपालबाट ठूलो रकम बाहिरिँदै आएको छ । नेपालमा वार्षिक १० लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । तर, पर्यटनबाट भित्रिएको विदेशी मुद्रा भने ७५ अर्ब ७१ करोड रुपियाँमा सीमित छ । विदेशी पर्यटकले नेपालमा औसत दैनिक ४० अमेरिकी डलर खर्च गर्छन् र १३ दिनको बसाइ गर्छन् भन्ने सरकारी तथ्यांकले देखाउँछ कि नेपाल ‘हाई स्पेन्डर’ पर्यटक भित्र्याउन अझै असमर्थ छ । पूर्वाधारको अभाव, सीमित सेवा–गुणस्तर र कमजोर प्रचार–प्रसार यस समस्याका मूल कारण हुन् ।

पर्यटन नेपालको प्रमुख आधार हुँदै गर्दा अर्कोतर्फ नेपालीहरू स्वयंले विदेश भ्रमणका लागि खर्च गर्ने प्रवृत्तिमा पनि तीव्र वृद्धि देखिएको छ । सस्तो हवाई सेवा, वैदेशिक आफन्तसँगको भेटघाट र सामाजिक सञ्जालबाट प्रभावित ‘बकेट लिस्ट’ प्रवृत्तिले भ्रमण खर्च बढाएको हो । यस वर्ष १० महिनामै भ्रमण र अध्ययन गरेर विदेशिएको कुल रकम १ खर्ब ८५ अर्ब ३ करोड रुपियाँ पुगेको छ, जसमा भ्रमण व्यय मात्रै करिब ७२ अर्ब रुपियाँको हाराहारीमा पर्छ । अर्थात् नेपालले जति पर्यटकबाट आम्दानी गर्छ, त्यसकै हाराहारीमा नै खर्च भएको अवस्था छ । यो नै सेवा खाता घाटा वृद्धिको प्रमुख कारण हो ।

चालू आर्थिक वर्षको वैशाखसम्म मात्र सेवा खाता घाटा ८६ अर्ब ५३ करोड रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५० अर्ब ३१ करोडभन्दा ७१ प्रतिशतले बढी हो । यसले नेपालको समष्टिगत अर्थतन्त्रमा थप चाप सिर्जना गरेको छ । सेवाबाट आउने आयभन्दा बहिर्गमनको गति तीव्र हुँदा विदेशी मुद्रा सञ्चिति, मुद्रास्फीति र विनिमय दरमा समेत प्रभाव देखिन थालेको छ ।
वैदेशिक अध्ययनमा पूर्ण रोक लगाउनु व्यावहारिक होइन ।

तर, स्थानीय शिक्षाको गुणस्तर सुधार, वैकल्पिक अवसरको विकास र प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवद्र्धन नगरी विदेशी मुद्रा बहिर्गमन नियन्त्रण गर्न सकिँदैन । यस्तै, आन्तरिक पर्यटन प्रवद्र्धन, पूर्वाधार सुधार र ब्रान्डिङ रणनीतिले मात्र नेपाललाई ‘हाई भ्यालु टुरिज्म’ मा लैजान सक्छ । देशभित्र अवसर नबनाउन्जेल विदेश मोह कम हुँदैन । शिक्षा होस् या भ्रमणमा हुने खर्च, प्राकृतिकरुपमा घट्दैन, बरु बढ्दो जीवनशैली र उपभोग प्रवृत्तिले अझ बढ्न सक्छ । यसलाई दीर्घकालीन रणनीति, नीतिगत हस्तक्षेप र संरचनात्मक सुधारबाट मात्रै सन्तुलित बनाउन सकिन्छ ।