सुरक्षित अवतरणको प्रयासमा नेतात्रय

1.32k
Shares

सत्तापक्षका केपी ओली, नेपाली काड्ग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनैजना नेता आफूहरू सुरक्षित अवतरणको प्रयासमा लागेका देखिन्छन् । बाहिरी देखावटीरुपमा एकले अर्काको मानमदन गर्न र गिज्याउन खोजेको अभिनय गर्दै गरेका भए तापनि चुरो उद्देश्य भनेको सत्ताको बागडोर नेतात्रयकै कब्जामा हुनुपर्ने हर्कत रहेको देखिन्छ । जसरी फुटबल खेलाडीले गोललाई आफ्नै पक्षको कब्जामा राख्न खोज्छन् त्यसै गरी नेतात्रयकै कब्जामा सत्ताको बागडोर रहेसम्म आफूलाई सुरक्षित रहेको ठान्ने मानसिकतामा रहेका छन् उनीहरु ।

भाषणका क्रममा एउटाले अर्काको सेखी झार्नको लागि यदि म सत्ताको बागडोर सम्हाल्न पुगेँ भने त फलानाको तुलनामा राम्रो शासन चलाउँछु भनेर भाषण गरे पनि नेतात्रयमध्ये कोही पनि सत्तामा पुगेर सुशासन दिन सक्ने अवस्थामा छैनन् । उनीहरुका केवल फोस्रा भाषण मात्र हुन् भन्ने कुरा विगतमा पटक–पटक सत्ताको बागडोर सम्हालेर पनि सिन्को भाँच्न नसक्ने नेताको क्षमताको आँकलन भइसकेको हुनाले यिनका भाषण केवल सत्ता जोगाउने अस्त्रको रुपमा बेलाबेलामा फ्याँक्ने गरेका मात्र हुन् ।

आफ्नो सुरक्षित अवतरणको बाटोमा आउने बाधा–अड्चनलाई हटाउनको लागि बेलाबेलामा यिनीहरू निर्मम पनि बन्ने गर्छन् । हुन त विगतमा निर्मम बनेरै अरुलाई थिचेर अगाडि बढ्न सकेका कारण हाल नेतृत्व हात पार्न सफल भएका हुनाले यिनका लागि निर्मम बन्नु सामान्य कुरा हुँदो रहेछ भन्ने कुरा आम जनताले भोगेको र अनुभूत गरेको कुरा हो । यिनको शासनलाई शिक्षक आन्दोलनले होस् कि राजावादीहरूको आन्दोलनले प्रभावित बनाउन सकेको छैन ।

त्यति भएर पनि पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई भ्रष्टाचारीको आरोपमा मुद्दा दर्ता भएको र उनको सांसदको पदसमेत निलम्बनमा परेको कुराले भने नेतात्रयलाई नराम्ररी झस्काएको छ । यो घटनाले नेतात्रय मात्र होइन कि विगतमा भ्रष्टाचार गरेर राजनीतिको बलियो आड–भरोसामा लुकेका सबैजसोको दिमागलाई नराम्ररी झस्का दिएको छ ।

त्यति मात्र होइन कि मन्त्री, राज्यमन्त्री आदिसरहका साना माछालाई त पहिले पनि भ्रष्टाचारी प्रमाणित गरेर जेलको छिँडीमा पठाइसकिएको थियो । तर पूर्व वा वर्तमान कुनै पनि प्रधानमन्त्रीलाई भने भ्रष्टाचारीको मुद्दा लगाउन सकिएको थिएन । माधव नेपालमाथि भएको यो कार्यवाहीले अबका प्रधानमन्त्रीले पनि आर्थिक अनियमितताका काम गरेका रहेछन् भने तिनलाई पनि कार्यवाही गर्न सकिने बाटो खुला भएको छ ।

माधव नेपालमाथिको कार्यवाहीले निदहराम भएका नेतात्रयले पनि सामूहिक भेटघाट गरेर आफूहरू कसरी सुरक्षित अवतरणको बाटोमा जान सकिएला भनी अनेक उपायका बारेमा सोचविचार र विमर्श गरिरहेका छन् । उनीहरूमध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपालमाथि पूर्वाग्रहपूर्ण व्यवहार भएको आरोप ओली सरकारलाई लाउँदै छन् ।

यता शेरबहादुर र केपी ओली भने मनमा अब के होला ? भनेर झस्के पनि कुनै प्रतिक्रिया जनाएका छैन । यदि नेतात्रयले सोचेजस्तै सुरक्षित अवतरणको बाटोबाट जान सकिएन र आफूले गरेका कुकर्मको पर्दाफास भएर सजायसमेत भोग्नुपरेका खण्डमा आफ्नो जीवनको यति लामो राजनीतिक सड्घर्षको छविमा कालो दाग लाग्ने हो कि ? भन्ने कुराले समेत सताएको पाइन्छ ।

अर्कोतिर नेतात्रयको मानसमा जमेको अहंकारको परतले गर्दा आम जनतासामु झुक्न उनीहरू तयार छैनन् । जबकि उनीहरूले यतिका वर्षसम्म यस्तै रवैयाले शासन चलाइरहेका छन् । आम नेपाली जनताको चाहना भनेको अबका दिनमा यी सारा भ्रष्ट मानसिकताले ग्रस्त भएका शासकलाई निर्ममताका साथ राजनीतिको बाटोबाटै हटाएर त्यो बाटोमा स्वच्छ छविका र भरोसा गर्नलायकको युवाशक्तिले वर्चश्व जमाउन सक्नुपर्छ भन्ने रहेको छ ।

यी बूढा वा पुराना नेताको मानसिकता भ्रष्ट भएर गएको मात्र होइन कि नयाँ पुस्ताका उनीहरूका कार्यकर्तामा समेत सोही खराब मानसिकताले गाँजेर लैजाँदै छ । राजनीतिक वृत्तको यो रोग पुस्तौँपुस्ता सर्दै र मौलाउँदै जाने हो भने वर्तमानको भ्रष्टचारी शासनभन्दा उम्दो शासन कुनै पुस्ताका हाम्रा सन्ततिले भोग्न पाउने छैनन् ।

नेतात्रयले मुखले २०८४ भनेर ध्वाँसपूर्ण भनाइ ओकले पनि वर्तमानको भासबाट कसरी पार पाउने ? भन्नेचहिँ उनीहरुका लागि महत्वको विषय हुन्छ । नेतात्रयमध्येका जोसुकैले सत्ताको बागडोर सम्हालेर २०८४ मा आम चुनाव गराउन सकेका खण्डमा त्यस बेला आफूले हारे पनि केही छैन । केवल आफूहरूलाई सुरक्षित अवतरणको मार्ग मात्र चाहिएको छ ।

आफूले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिको छानबिन नगरेर ढिसमिस पार्न पाए र त्यत्तिमै उन्मुक्ति पाउन पाए धन्य हुने थियो भन्ने उनीहरू त्रयको मानसिक ढुकढुकीले बोल्दै गरेको कुरा हो । अबका दिनमा राजनीतिमा प्रवेश गर्ने युवावर्गले यो जीर्ण र आपराधिक मानसिकताबाट मुक्त भएर मात्रै राजनीतिमा प्रवेश गर्नुपर्ने हुन्छ । राजनीति कुनै कमाइ खाने भाँडो नभएर निःस्वार्थ भावनाले गरिने मानवसेवा हो भन्ने भावनाको विकास गर्नै पर्ने भएको छ ।

राजनीतिक कर्ममा लागेका मानिसले गरेका अनियमित कामलाई लिएर उनका विरुद्ध मुद्दा दायर हुन्छ, छानबिन हुन्छ तर व्यक्ति कसुरदार र अपराधी हुँदाहुँदै पनि राजनीतिको बलियो आड–भरोसामा केही समयमा नै सफाइ पाएर सजायमुक्त हुने खालका गलत हर्कतले गर्दा पनि खराव कामका लागि उनीहरुको हौसला बढाउने काम भइरहेको छ । यसको मतलब करोड जनताको आशा र भरोसाको केन्द्रको रुपमा मानिएको न्यायालयसमेत अनेक थरीका प्रलोभनमा फसेर न्यायालयको समेत बदनाम गराउने कामको नजिर स्थापित भइसकेको छ ।

न्यायालयसमेत मोहमा फसेपछि न्यायालयप्रतिको आशा र भरोसा कतै पनि बाँकी रहनेवाला छैन । दर्जनभन्दा बढी मान्छेलाई जिउँदै इँटाभट्टामा हाली जलाएर मार्ने र अदालतबाटै अपराधी प्रमाणित भएर जन्मकैदको सजाय भोग्दै गरेको अपराधीलाई बीचमै सफाइ दिएर निरापराध ठहर गर्ने न्यायालयका न्यायमूर्तिहरुलाई चाहिँ कार्यवाही कसले गर्ने ? भन्नेतिर पनि ध्यान जानु जरुरी छ ।

जे होस्, वर्तमान सन्दर्भमा हेर्ने हो भने सुरक्षित अवतरणको प्रयासमा लाग्दै गरेका नेतात्रयले पनि शासकीय शक्तिको आडमा धैरै थरीका आपराधिक घटना घटाएका थिए भन्ने कुरा देख्ने, भोग्ने, सुन्ने आम जनता साक्षी छन् । यिनलाई आम माफी दिएर उन्मुक्त वातावरणमा छोड्नु अर्को पाप कर्म हो । अख्तियारले चाहेको खण्डमा नेतात्रयका आपराधिक क्रियाकलापको एक–एक गरेर खुट्याउन र निरुपण गर्न सक्छ तर अख्तियार पनि नेताको भनाइको प्रभावमा परेर हो वा मोहमा फसेर जनता सन्तुष्ट हुने गरी कार्यवाहीको डन्डा चलाउन सकेको छैन ।

यो उसको लाचारीपनाबाहेक केही होइन । समय आएपछि सबै वस्तु नाश भएर गएजस्तै जतिसुकै शक्तिशाली आड–भरोसा भए पनि दिन पुगेका दिन देखा पर्नेछ र आम जनताले थाहा पाउनेछन् । कोही पनि राजनीतिक व्यक्तित्वले जनताको विश्वास गुमाएको खण्डमा उसको राजनीति कहिल्यै सफल हुनेवाला छैन ।

वर्तमानको राजनीतिक वातावरणमा शासक पक्ष क्रमशः कमजोर वा निरीह र राजावादी पक्ष शक्तिशाली बन्दै गएको जस्तो देखिन्छ । अपराध कर्म गर्ने मान्छेले आफूले गरेका पापकर्मले आफूभित्रैबाट जलिरहेको हुन्छ भन्ने कुरा सत्तापक्षको लाचारीपनबाट प्रस्ट हुन्छ । सत्तापक्ष सत्यको बाटोमा हिँड्न सकेको छैन । असत्यको बाटोमा हिँड्दै गरेको मान्छेले हरेक घटनाबाट डराउनुपर्छ । तर सत्यको बाटोमा हिँडेको मान्छे निर्धक्क भएर निडरताका साथ पाइला अगाडि बढाउन सक्छ ।

केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को गलत हर्कत गर्दै जान थालेको छ । यो गलत हर्कतले ऊमाथि भय थपिँदै जानाले शङ्का र संशय बढ्दै जान थाल्छ । अपराध कतैबाट खुल्ने हो कि भन्ने डरले हर्दम सताइरहेको हुन्छ । बाटोमा आउने अवरोध हटाउन भएभरको बल लगाएर हुङ्कार गर्न खोज्छ तर भित्र खोक्रो भइसकेको हुनाले हुङ्कार बेकार हुनपुग्छ ।

जेठ १५, २०८२ मा राजावादीहरूले शक्ति प्रदर्शन गर्ने कार्यक्रम तय भएको थियो । शासक केपी ओली भाषण गर्दै थिए, राजावादीहरुलाई चक्रपथभित्र छिर्नै नदिने तथा उनीहरुको भन्दा तीन गुना बढी मान्छे उतारेर हाम्रो शक्ति कति रहेछ भनी राजावादीलाई देखाउने, तर राजावादीको आन्दोलनको तुलनामा शासकका नगन्य संख्याको जनसहभागिताले यो कुराको पुष्टि गरिदियो कि असत्यको बाटोबाट शासन चलाउन खोज्ने शासकको पक्षमा सत्यवादी जनशक्ति लाग्दैन । केवल शासकका फोस्रा हुङ्कार मात्र खेर गएको आम जनताले महसुस गर्छन् ।

अपराध गरेर उम्कन पाउने छुट कुनै पनि शासकलाई दिइनु उपयुक्त होइन । तर विडम्बना के छ भने, हाम्रो देशका विगतदेखि वर्तमानसम्मका शासकहरू आपराधपूर्ण शासन चलाएर आम जनतालाई दुःख र पीडाको भुमरीमा डुबाउन उद्यत हुन्छन् अनि तिनै नालायक शासकलाई आम जनताले महान् नेताका रुपमा पूजा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।

तिनको पूजा नगरे रोजगारी नपाइने, रोजगारी नपाइए बाँच्न नसकिने आदिजस्ता समस्याले पिरोलिएका छौँ । यस कारणले गर्दा राज्यको नीति बनाउने राजनीति भन्ने शब्द यति धेरै विकृत हुन पुगेको छ कि राजनीति भन्नासाथ तिनै भ्रष्ट र पापी नेतालाई, तिनले गरेका आपराधिक कर्मलाई सम्झनु र मान्नुपरेको छ ।

मुख्य राजनीतिक दलबाहेकका अरु सानातिना राजनीतक दल अस्तित्वमा रहेका भए पनि तिनले आफ्नो राजनीतिक भूमिका निभाउन सकिरहेका छैनन् । बरु अबका दिनमा ती सबै भुरेटाकुरे राजनीतिक दलसमेत एकताबद्ध भएर ठूला भनिएका र सत्ताको बागडोर सम्हालेर मनपरि शासन गर्न पल्केका नेतालाई किनारा लगाएर नेपालको राजनीतिलाई स्वच्छ बनाउने काममा लागिपर्नुपर्ने बेला आइसकेको छ । जनताको विश्वासलाई धोका नदिने गरी राजनीतिक वातावरणलाई सङ्लो र पारदर्शी बनाउने काममा लाग्न ढिलो हुँदै गएको छ ।

उपयुक्त शासन, सुधारिएको शासन व्यवस्थाको स्थापना हुन अनिवार्य भइसकेको छ । असल र सफल नेतृत्वले आफूपछि सोही प्रकारको नेता जन्माउनुका साथ सुशासनको अनुभूत गराउने खालको शासनको जग बसाल्न अबको युवा पुस्ताले पहल थाल्नु अनिवार्य भएको छ । वर्तमानका शासकहरूले सुरक्षित अवतरणको बाटो खोजिरहेका बेला आम जनताले विश्वास गर्ने र भरपर्दो भावी शासकको तस्वीर आफ्नो मानसमा खेलाउन पाएका छैनन् । अबका दिनमा त्यो अवसर पनि पाउन सक्ने वातावरण सिर्जना हुन सकोस् ।