एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि


काठमाडौं।

नेपाल मिक्स बक्सिङ संघ, उमा नेपाल र बूढानीलकण्ठ कुङफुको संयुक्त आयोजनामा प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, थाइल्यान्ड, बंगलादेश र श्रीलंका गरी ६ राष्ट्रका १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक मिक्स बक्सिङ संघका अध्यक्ष सुकमान लामाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । इराक, इरान र अफ्गानिस्तानका प्रतिनिधि पनि प्रतियोगिताका लागि नेपाल आउने छन् ।

बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा सिनियर, सब जुनियर र जुनियर गरी विभिन्न ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । कुनैपनि मार्सल आर्ट्सको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । सहभागीको खाना र बसोवासको व्यवस्थापन आयोजकले गर्ने छ । दुईदिने प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका वडा ३ स्थित बूढानीलकण्ठ बैंक्युटमा खेलाइने छ ।