सन् १९१२ को अप्रिल महिनाको एउटा अँध्यारो, चन्द्ररहित रात । एटलान्टिक महासागर शान्त थिएन । चिसो र क्रूर पनि थियो । त्यही रात, “कहिल्यै नडुब्ने” उपमा पाएको संसारकै सबैभन्दा भव्य जहाज आरएमएस टाईटानिक बिस्तारै समुद्रको गर्भमा समाहित हुँदै थियो । त्यो रात जहाज मात्रै डुबिरहेको थिएन । भाग्य, आत्मबल र मानवीय साहसको पनि परीक्षा चलिरहेको थियो।
त्यही जहाजमा थिए २१ वर्षीय रिचर्ड नोरिस विलियम्स । अमेरिकी नागरिक, जिनेभा (स्विट्जरल्याण्ड) मा हुर्केका टेनिस खेलाडी र हार्वर्ड जान लागेका एक उच्च शिक्षित युवक । उनी टाईटानिकमा बुबा चाल्र्स डुएन विलियम्ससँगै यात्रारत थिए, एक नयाँ अध्याय सुरु गर्नका निम्ति । अप्रिल १४ को त्यो मध्यरात, हल्का झट्कासँगै जहाजको भाग्य बदलियो । सुरुमा सामान्य जस्तो ठानिएको त्यो कम्पन, केही मिनेटमै मृत्युको संकेत बन्यो । टाईटानिक एक विशाल हिमशिलासँग ठोक्किएको थियो । घटनाको विवरण फैलिएपछि भागदौड सुरु हुन थालेको थियो । त्यही भागाभागबीच विलियम्स र उनका बुबा जहाजको पछिल्लो भागतर्फ लागे । तर, एक विशाल फनल (ध्वजपोल) टुक्रिएर खस्यो । त्यही फनलको चपेटामा आएर बुबाले मृत्युवरण गरे । तर, विलियम्स भने जोगिए।

नाङ्गो खुट्टा, शरीरमा भुवाको कोट, लाईफ ज्याकेट र बाँच्ने झिनो आशा । उनले ज्यानको बाजी लगाएर चिसो समुद्रमा पौडिएर एउटा लाइफबोट समात्न सफल भए । त्यहाँ उनी चुपचाप बाँच्न सफल केही यात्रुसँग घाँटीसम्म पानीमा डुबेर बसे । जब उद्धार जहाज कार्पेथिया आइपुग्यो, उनी बाँच्न सफल भए । तर, उनका खुट्टा गम्भीर रूपमा सुन्निएका थिए । डाक्टरले दुबै खुट्टा काट्नुपर्छ भनेर सुझाए । तर नोरिस राजी भएन । त्यसपछि सुरु भयो एउटा अनौठो उपचार । प्रत्येक दुई घन्टामा उनी जहाजको डेकमा हिंड्न थाले, सुन्निएका खुट्टा घिसार्दै, पीडालाई चुनौती दिँदै । चमत्कार भनौं वा इच्छाशक्ति, न्यूयोर्क आइपुग्दा खुट्टामा जीवन फर्किन थालेको थियो ।
टेनिस ¥याकेट र बन्दुक उचाले
त्यसै वर्ष टेनिस कोर्टमा फर्किएका उनी अमेरिकी टेनिस च्याम्पियनसिपको मिक्स्ड डबल्स विजेता बने । टाईटानिक घटनाले काटिनबाट जोगिएका ती खुट्टाको सहाराले फेरि बल हिर्काउन थाले । सन १९१६ मा उनी अमेरिका कै नम्बर एक टेनिस खेलाडी बने । त्यही समय पहिलो विश्वयुद्ध चर्किरहेको थियो । नोरिसले पनि टेनिस ¥याकेटलाई थांती राखेर बन्दुक समाते । उनले फ्रान्सको युद्धभूमिमा सेवा गरे । जहाँ उनको वीरतालाई ‘क्रोइज डे गुएरा र लेजीयोन डी ओनेउर’ जस्ता फ्रान्सेली वीरता पदकद्वारा सम्मानित गरियो ।
ओलम्पिकमा स्वर्णपदक
विश्व खेलकुदको सबैभन्दा ठूलो कुम्भमेला अर्थात ओलम्पिक, सन १९२४ मा पेरिसमा आयोजना भयो । नोरिसले टेनिस साझेदार हेजल हटकिस् विटम्यानसँग मिक्स्ड डबल्समा भाग मात्र लिएनन, स्वर्ण पदक नै हात पारे । डाक्टरले कहिल्यै चल्दैन भनेका खुट्टाले ओलम्पिक स्वर्णको शिखर चुमे । खेल जीवनपछि नोरिसले बैंकिङ क्षेत्रमा करियर बनाए । उनी ‘हिस्टोरिकल सोसाइटी अफ पेन्सिलभानिया’ का अध्यक्ष समेत बने । सन् १९५७ मा इन्टरनेसनल टेनिस ‘हल अफ फेम’ मा उनको नाम समावेश गरियो । तर, यी सबै सम्मानहरूले पनि उनको आत्मालाई पूर्णरूपमा बयान गर्न सकेनन् । न च्याम्पियन, न त नायक नै, नोरिस विलियम्स त्यो भन्दा ठूला थिए । उनी त्यो मान्छे थिए जसले टाईटानिकको डुबाइलाई जिते, जसले हिम्मतलाई कहिल्यै हार्न दिएनन् ।
प्रतिक्रिया