आर.भी ग्रुपद्वारा करोडौं कर छली

अवैध आर्जन हुन्डीमार्फत् भारतमा लगानी


काठमाडौं ।

लक्ष्यअनुसारको राजस्व संकलन नहुँदा सरकारको बजेट खर्चमा नै गम्भीर असर गरिरहेका बेला विभिन्न व्यावसायिक समूहले देशलाई नै टाट पल्टाउने गरी ठूलो परिमाणमा राजस्व छल्ने तथा उक्त रकम अन्य देशमा पु¥याएर राष्ट्रघात गर्दै आएका घटना एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् ।

यसैक्रममा आर.भी. ग्रुपको कर छली प्रकरण उजागर भएको छ । उक्त ग्रुपअन्तर्गतका कम्पनीहरूले नक्कली भ्याट बिलको प्रयोग गरी करोडौं रुपियाँ राजस्व छली गर्दै आएको विषयमाथि आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभागलगायतका निकायले छानबिन गरिरहेको भए पनि उक्त विषयलाई गुपचुप राख्न चलखेल भइरहेको खबर प्राप्त भएको छ ।

आर.भी.ग्रुपका भगिनी कम्पनीहरू युरेसियन इन्फ्रा, टाइम्स् डेभलपर्स, आर.भी. इन्भेस्टमेन्ट र माउन्टेन भ्यु (कार्यविनायक होम्स) लगायतका कम्पनीहरूको कारोबारमा नक्कली भ्याट बिल प्रयोग गरी करोडौं रुपियाँ कर छली भएको तथ्य आन्तरिक राजस्व विभागले फेला परेको छ । राजस्व उच्च स्रोतका अनुसार देशको कर प्रणालीलाई चुनौती दिँदै नक्कली कारोबार र फर्जी बिलबिजकको प्रयोग गरी आफ्नो वास्तविक कारोबारभन्दा भिन्न विवरण कर कार्यालयमा पेस गरेको देखिएको छ ।

लामो समयदेखि आर.भी. ग्रुपले कर छली गर्दै आएको फेला परेपछि आन्तरिक राजस्व कार्यालयले सो ग्रुपको दुई आर्थिक वर्षको ‘फुल अडिट’ समेत शुरू गरिसकेको छ । आर.भी. ग्रुपले नक्कली कारोबार र झुटा बिलबिजक प्रयोग गरी राजस्व छली गरी आर्जन गरेको रकम हुण्डीमार्फत् भारतमा लगेर त्यहाँ आफन्तको नाममा खोलिएको आर.भी. इन्फ्राटेक एन्ड स्टक्चर्स नामक कम्पनीमा लगानी गरेर अर्को वित्तीय अपराध गर्दै आएको समेत अनुसन्धानका क्रममा खुलेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार आर.भी. ग्रुपको युरेसियन इन्फ्राले अर्नव इन्टरप्राइजेजको नाममा कयौंपटक नक्कली बिलबिजक तयार गरी करोडौं रुपियाँबराबरको राजस्व छली गरेको फेला परेको हो ।

राजस्व छली गरी देशलाई आर्थिक नोक्सानी पु¥याएको विषयमा कम्पनीको भनाइ के हो ? भनेर नेपाल समाचारपत्रले आर.भी. ग्रुपका सञ्चालकहरू अनिशा अग्रवाल मित्तल, निश्चित मित्तललगायतसँग बुझ्न सम्पर्क गर्ने प्रयास गर्दा सञ्चालकहरू सम्पर्कमा नआई केवल कर्मचारीहरू मात्रै सम्पर्कमा आए । आफूलाई आर.भी. ग्रुपको एडमिन चिफ बताउने गोविन्द सिम्खडाले यस विषयमा सञ्चालकहरूसँग सम्पर्क गर्न आवश्यक नरहेको र करमा केही साना तिना ‘मिसम्याच’का समस्या आउने भन्दै यसलाई समाचार बनाउन आवश्यक नरहेको बताए ।

त्यस्तै, नेपाल समाचारपत्रको सम्पर्कमा आएका र आफूलाई कम्पनीको फाइनान्स डिपार्टमेन्टको कर्मचारी बताउने लामिछाने थरका अर्का व्यक्तिले भने– ‘कर कार्यालयबाट तपाईंले के–के सूचना पाउनुभएको छ, ती सही पनि होलान् । तर, तपाईंसँग कम्पनीका सञ्चालकहरू कसैले पनि कुरा गर्दैनन् ।’ अनिशा अग्रवाल मित्तल, निश्चित मित्तल सञ्चालक भई नक्सालमा कार्यालय रहेको उक्त ग्रुपले दुई दशकदेखि घरजग्गा तथा अपार्टमेन्ट निर्माण तथा बिक्री, हस्पिटालिटी र निर्माण क्षेत्रमा काम गर्दै आएकोे छ ।

हिजोआज भेइकल र कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) विकासले गर्दा कारोबारमा पारदर्शिता बढ्दो छ । अब कम्पनीले कारोबारका निम्ति बिल मात्रै काट्ने होइन कुनै पनि सामानको ढुवानी कहाँबाट कहिले हिँड्यो, कहिले कुन ठाउँमा पुग्यो भन्ने कुरा सजिलै पत्ता लगाउन सकिन्छ । यस प्रणालीको प्रयोगले बिल सही हो कि नक्कली भन्ने छुट्याउन पनि सजिलो भएको छ ।

कसैले भ्याट बिल काटेर कारोबार देखाएको भए पनि सामान ढुवानी नगरिएको हो भने, त्यो बिल नक्कली ठहरिन सक्छ । किनभने (भीसीटीएस) मा सामानको गन्तव्य, ट्रकको गति र डेलिभरीको अवस्था सबै देखिन्छ । यस्तो अवस्थामा केवल बिल काटिएको देखिएर पनि सामानको कुनै ट्रयाक रेकर्ड छैन भने त्यो नक्कली प्रमाणित हुन्छ यो तथ्यलाई आर.भी. ग्रुपले नजरअन्दाज गरेको छ ।

कम्पनीको बास्तविक कारोबारअनुसार कर तिर्नुपर्नेमा नक्कली बिलबिजकको प्रयोग गरी कम्पनीको खर्च बढी देखाएर कर छली गर्दै आएका छन् । विभाग स्रोतका अनुसार कम्पनीले कर छली गरेको प्रमाणित भए राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ३, दफा ४ (क), (ख) र (झ) अनुसार नक्कली बिल प्रयोग गरी कारोबार गरेको हुँदा कायम गरिएको कुल बिगोअनुसार जरिवाना तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा २३ (१) बमोजिम कर छली भएको पुष्टि भएमा सम्बन्धित कम्पनी, कर्मचारी तथा संलग्न अधिकारीहरूलाई तीन वर्षदेखि सात वर्षसम्मको कैद सजाय तथा जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ ले सम्पत्ति शुद्धीकरणबाट प्राप्त आय गैरकानुनी हुने व्यवस्था गरेको हुँदा दफा ३ को उपदफा १ देखि ८ सम्म बिगोको दोब्बर जरिवाना र २ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

(अर्नव इन्टरप्राइजेज र युरेसियन इन्फ्राबीचको नक्कली कारोबारको नमूना)

Skip This