काठमाडौं।
बिहीबार जित्नै पर्ने खेल जितेपछि नेपाली टोली आईसीसी महिला टी २० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्रीमा पुग्ने सम्भावना बलियो बनेको छ । तर, यसको लागि आज हुने खेल निर्णायक हुनेछ ।
नेपालले बहराइनलाई दुबै खेलमा हराएको छ र हङकङविरुद्धको दुई खेलमध्ये एक खेलमा पराजित भएको छ । एक खेलको नतिजा भने आउन नसक्दा नेपाल र हङकङले एक–एक अंक जोडेका थिए ।
नेपालको ५ अंक छ भने हङकङको ४ अंक छ । यी दुईमध्य एक टोली सुपर थ्रीमा पुग्नेछ । आज हुने खेलले नेपालको सुपर थ्री यात्रा संभव गर्छ वा गर्दैन त्यो खेलपछि नै थाहा हुनेछ । तर, प्रतियोगितामा हङकङको प्रदर्शन राम्रो भएको हुनाले बहराइनले हराउनेमा शंका नै छ ।
अर्को, वर्षाले खेल हुन नसकेमा हङकङको ५ अंक भएपनि नेपाल सुपर थ्रीमा पुग्नेछ । यो, जितको आधारमा गरिने निर्णय हो । जसअनुसार नेपालले दुई खेल जितेको छ भने हङकङले एक खेल मात्रै जितेको छ ।
यस एसिया छनोटमा ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको हो । हरेक समूहको शीर्ष टोली सुपर थ्री मा पुग्नेछ । सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।
प्रतिक्रिया