मान्छे अद्भुत प्राणी हो ! वैज्ञानिकहरुका अनुसार शरीर हाइड्रोजन, नाइट्रोजन, अक्सिजन, क्याल्सियम, कार्बन र फोस्फोरस नामका प्रमुख ६ तत्वको संयोजनबाट बनेको छ ।
शरीरमा ७० प्रतिशत पानी मात्रै छ । तर यो पानी बोल्छ, नाच्छ, गाउँछ । प्रेम गर्छ, घृणा गर्छ । राजनीति गर्छ । यो पानी पूर्वाग्रही छ । यो पानी एकताभन्दा विभाजनको रेखा कोर्न अभ्यस्त छ । संसारमा आज ६ हजार ५ सयभन्दा बढी भाषा बोलिन्छन् । ४ हजार २ सयभन्दा बढी त धर्म मात्रै छन् । १ सय ९६ देशहरु छन् । यी देशमा ३१ प्रकारका सरकार छन् । मान्छे १२ वटा राशीमा बाँडिएको छ । मान्छेको जीवन पाँचवटा प्रमुख दर्शनशास्त्रबाट निर्देशित छ । यो विभाजनको पराकाष्ठा हो । तर संसारका ८ अर्ब मान्छेहरुमा एउटा मौलिक र आधारभूत समानता पनि छ, श्वास । सबै श्वास फेर्छन् ।
हरेक मान्छे आफ्नो भावना र धारणाबाट निर्देशित छ । त्यसै अनुकूलको जीवनशैलीमा व्यस्त छ । श्वास एकमात्र यस्तो जीवन आधार हो, जसका कारण मान्छे जे गर्छ त्यो गर्न सक्षम छ । तर मान्छेको वैचारिक जीवनमा सर्वाधिक ‘मूल्यहीन’ केही छ भने त्यो पनि श्वास नै हो । यो श्वास मान्छेको जीवनमा आनन्द, कृतज्ञता र शान्तिको अजस्र स्रोत पनि हुन सक्छ । हो, जीवनमा समस्या आउँछन् । तर जीवन समस्याभन्दा माथि छ । समस्या जीवनको पर्याय होइन । यो सत्यको अनुभव त्यसले गर्न सक्छ, जसले यो श्वासको महत्ता बुझेको होस् ।

यी भनाइ विश्व शान्तिदूत प्रेम रावतका हुन् । दुई वर्षअघि उहाँको पुस्तक ‘हियर योरसेल्फ’ प्रकाशित भयो । यसपटक उहाँको अर्को पुस्तक आएको छ, ‘श्वास (ब्रेथ) ।’ ‘हियर योरसेल्फ’ पुस्तकमा अन्तर्निहित सन्देश थियो, ‘यो कोलाहलपूर्ण संसारमा शान्ति कसरी प्राप्त गर्ने ?’ शुरुमा यसको हिन्दी अनुवाद आयो, ‘स्वयंको आवाज’ शीर्षकमा । अंग्रेजी मूल भाषामा प्रकाशित यो पुस्तक न्यूयोर्क टाइम्सद्वारा सर्वाधिक बिक्री भएको किताबका रुपमा सूचीकृत मात्र भएन, आजको मितिसम्म यो १६ भाषामा अनुवाद भएर २ लाख ४० हजार प्रतिभन्दा बढी बिक्री भैसकेको छ । र, यो क्रम अझै जारी छ ।
उहाँको यो पछिल्लो पुस्तक ‘श्वास’ अघिल्लो ‘हियर योरसेल्फ’ भन्दा धेरै अर्थमा भिन्न छ । तर सन्देशमा भिन्नता छैन । ‘श्वास’ ‘हियर योरसेल्फ’ भन्दा सरल छ । रोचक छ । ६५ हजार शब्द र १२ भागमा विभाजित ‘हियर योरसेल्फ’ गहन शब्दले भरिएको एक गहकिलो सन्देश थियो । यसपटकको ‘श्वास’ केवल १८ हजार शब्दमा सीमित छ र केवल एउटै कुरामा केन्द्रित छ– श्वास । उहाँको अघिल्लो पुस्तकजस्तै ‘श्वास’ पनि युएसए टुडे पत्रिकाको ‘बेस्ट सेलर’का रुपमा सूचीकृत भैसकेको छ । अमेजन बुक्सको ताजा किताबको सूचीमा यो कृति पहिलो स्थानमा रहेको दुई महिनाभन्दा बढी भयो ।
विश्वविख्यात जापानी चित्रकार अकिको कुनिसुको ६४ वटा रेखाचित्रले सुसज्जित यो पुस्तक रोचक र सरल हुँदाहुँदै पनि गम्भीर सन्देश दिन पनि सफल छ । यस्तो सन्देश, जो मान्छेको जीवनमा सर्वाधिक महत्वपूर्ण छ, जसको विना मान्छेले केही गर्नु र सोच्नु त टाढाको कुरा, उसको अस्तित्व नै सम्भव छैन । गम्भीर विषयलाई सरल, सहज र रोचक ढंगले प्रस्तुत गर्नु प्रेम रावतको विशेषता हो ।
प्रेम रावतको परिचय लेखकमा मात्र सीमित छैन । चार वर्षको उमेरदेखि शान्तिको सन्देश प्रवाह गर्दै आउनुभएका उहाँ भन्नुहुन्छ, ‘तपाईँको शान्तिको स्रोत बाहिर होइन, स्वयं तपाईंभित्र छ । तपाईँलाई सानैदेखि हरेक कुरा बाहिर खोज्ने बानी परेको छ । बाहिर खोजेर हासिल गरेको खुशी एकदिन कुनै न कुनै रुपले तपाईँको दुःखको कारण बन्नेछ ।’ उहाँ भन्नुहुन्छ, वास्तविक शान्ति र आनन्दको अनुभव गर्न मान्छेले आफूलाई आफैँभित्र केन्द्रित गर्नु जरुरी छ । उहाँको सन्देश ग्रहण गरेर स्वयं आफ्नो वास्तविक स्वरुपको अनुभव गर्न इच्छुक जिज्ञासुलाई उहाँ व्यावहारिक ज्ञानको उपहार दिनुहुन्छ, निःशुल्क !
गतवर्ष उहाँ ज्ञानको प्रचारमा ६ महादेशका २१ देशमा ६० वटा कार्यक्रममा सहभागी हुनुभयो । विश्वका करोडौं मान्छे उहाँको सन्देशबाट लाभान्वित भए । धर्म, भाषा, राजनीति, जात, सम्प्रदाय, आर्थिक अवस्था आदि मनुष्यजनित विभाजनका रेखा पार गरेर उहाँको सन्देश केवल मनुष्यका लागि हो । झन्डै ६० वर्षदेखि केवल यही एक अभियानमा केन्द्रित प्रेम रावत आफ्ना श्रोताहरुसमक्ष आफैँ पुग्नुहुन्छ ।
सर्वाधिक श्रोताहरुलाई सम्बोधन गर्ने व्यक्तिका रुपमा उहाँले तीनवटा विश्व कीर्तिमान कायम गरिसक्नुभएको छ । आफ्ना श्रोताहरुसमक्ष आफैँ पुग्नु उहाँको विशेषता हो । यसका निम्ति उहाँ आफ्नो हवाईजहाज आफैँ उडाउनुहुन्छ । उहाँले अहिलेसम्म विमान उडाएको समय जोड्ने हो भने त्यो चन्द्रमा र पृथ्वीको दुरी १५ पटक ओहोरदोहोर गरेकोभन्दा बढी हुन्छ । यो आफैँमा एक अर्को कीर्तिमान हो ।
प्रेम रावतले गत वैशाख ६ गते बिहान रूपन्देहीको सैनामैनामा र वैशाख १० गते भक्तपुरको सिपाडोलमा आत्मज्ञान प्रचार संघद्वारा आयोजित कार्यक्रमहरूमा हजारौँको संख्यामा उपस्थित सहभागीहरूलाई सम्बोधन गर्नुभयो । उहाँले त्यहाँ पनि सदाझैँ त्यही नै आग्रह गर्नुभयो, ‘खुशी हुनुहोस्, किनभने तपाईँभित्र यो श्वास आइरहेको छ । श्वासको आवागमन नै सृष्टिकर्ताको कृपा हो । तपाईँले यो श्वासको मूल्यलाई नबुझेसम्म यो जीवन कति अमूल्य छ भन्ने कुरालाई बुझ्न सक्नुहुन्न । यस श्वासलाई पहिचान गर्नुहोस्, श्वासलाई चिन्नुहोस् । यसमा तपाईँलाई खुशी दिन सक्ने चिज समाहित छ ।’
प्रतिक्रिया