ख्यातिप्राप्त भारतीय संगीतकार एआर रहमान गीत संगीत चोरी मामिलामा दोषी ठहरीएका छन्। भारतको दिल्ली उच्च अदालतले रहमानलाई सो मामलामा दोषी रहेको भन्दै २ करोड भारतीय रुपियाँको जरिवाना तोकेको छ।
यो मुद्दा उनले संगीतबद्ध गरेको पोन्नियिन सेल्वन २ फिल्मको चर्चित गीत वीर राजा वीरका साथ जोडिएको छ। अदालतले उक्त गीत शास्त्रीय गायक उस्ताद फैयाजुद्दीन र वासिफुद्दीन डागरका पिता तथा काकाले रचेको शिव स्तुतिबाट नक्कल गरिएको जनाएको छ।
यस आरोपमा रहमानसहित फिल्म निर्माण कम्पनी मद्रास टकीज विरुद्ध दिल्ली उच्च अदालतमा सन् २०२३ मा फैयाज वासिफुद्दीन डागरले मुद्दा दायर गरेका थिए। उनले अदालतसँग शिव स्तुतिको अवैध प्रयोग रोकिनु पर्ने र गीतको सार्वजनिक प्रयोगमा तत्काल प्रतिबन्ध लगाइनु पर्ने माग राखेका थिए।
अदालतले रहमान र निर्माण कम्पनीलाई दोषी ठहर गर्दै २ करोड भारतीय रुपियाँ जरिवाना तिराउन आदेश दिएको छ। फिल्म पोन्नियिन सेल्वन २ सन् २०२३ मा रिलिज भएको थियो। जसमा ऐश्वर्या राय बच्चन, चियान विक्रम, जयम रवि, त्रिशा कृष्णन, प्रभु, शोभिता धुलिपाला, ऐश्वर्या लक्ष्मी र प्रकाशराज जस्ता कलाकारले अभिनय गरेका थिए।














प्रतिक्रिया