काठमाडौं ।
नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी दर्जामा पदोन्नति भएका छन् । गत मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रथीमा पदोन्नति भएका थापालाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले मंगलबार जङ्गी अड्डामा आयोजित विशेष समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
रथी दर्जामा भएको पदोन्नतिसँगै थापाका लागि नेपाली सेनाको सर्वोच्च नेतृत्व अर्थात् प्रधानसेनापति बन्ने बाटो खुलेको छ । नेपाली सेनाको उच्च सैनिक नेतृत्वमा पुगेका थापाको पदोन्नतिलाई भावी नेतृत्व चयनका दृष्टिले समेत महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
यद्यपि, रथीमा पदोन्नति हुँदैमा प्रधानसेनापति बन्ने निश्चित भने हुँदैन । सैनिक ऐन, प्रचलित कानुनी व्यवस्था, ज्येष्ठता, योग्यता तथा सरकारको निर्णयले भावी प्रधानसेनापतिको चयन निर्धारण गर्नेछ । २०८४ भदौमा सेनाको नेतृत्व सम्हाल्ने सम्भावना हालका प्रधानसेनापति अशोकराज सिग्देलको तीनवर्षे कार्यकाल आगामी २०८४ भदौ २४ गते पूरा हुँदै छ । विद्यमान सैनिक वरीयता क्रम अनुसार अनुपजंग थापाले त्यसपछि नेपाली सेनाको नेतृत्व सम्हाल्ने सम्भावना बलियो बनेको छ ।
रथी गणेशकुमार श्रेष्ठ अनिवार्य अवकाशमा गएपछि रिक्त भएको पदमा थापाको बढुवा भएको हो । हालका बलाधिकृत रथी प्रदीपजंग केसी पनि आगामी मंसिर १५ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि थापा नेपाली सेनाको पहिलो वरीयताका रथी बन्ने अवस्थामा पुगेका छन् ।केसीको अवकाशपछि उपरथी मधुकर कार्कीलाई रथीमा बढुवा गर्ने प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
को हुन् अनुपजंग थापा ?
नेपाली सेनाको २८ बेसिकका सैनिक अधिकृत थापा व्यावसायिक सैनिक अनुभव, युद्धकला, रणनीतिक योजना, सैन्य प्रशासन तथा अन्तर्राष्ट्रिय कार्यअनुभव भएका उच्च सैनिक अधिकृत हुन् । उनले सन् १९९१ मा बेलायतको प्रतिष्ठित रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट सैनिक तालिम पूरा गरेका थिए । उनले अमेरिकामा समेत विभिन्न सैनिक तालिम लिएका छन् ।
तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा महावीर रेन्जर्समा रहेर जिम्मेवारी निर्वाह गरेका थापासँग युद्धमैदानदेखि सैनिक मुख्यालयसम्म काम गरेको अनुभव छ । उनले आफ्नो सैनिक सेवाका क्रममा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सहसंयोजक, २८ नम्बर बाहिनीका बाहिनीपति, पृतनापति, प्रधानसेनापतिको उपसैनिक सहायक तथा खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा पी–४ तहमा रहेर काम गरेको अन्तर्राष्ट्रिय अनुभवसमेत उनीसँग छ ।
भावी प्रधानसेनापतिसामु चुनौती
मुलुकको बदलिँदो राजनीतिक परिस्थिति, भूराजनीतिक संवेदनशीलता, क्षेत्रीय सुरक्षा समीकरण तथा आधुनिक प्रविधिमा आधारित सुरक्षा चुनौतीका बीच नेपाली सेनाको आगामी नेतृत्वको भूमिका महत्त्वपूर्ण हुनेछ ।
सैनिक आधुनिकीकरण, व्यावसायिक क्षमता अभिवृद्धि, सैनिक कल्याण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना तथा राष्ट्रिय सुरक्षा सुदृढीकरण भावी प्रधानसेनापतिका प्रमुख कार्यभार हुनेछन् ।
नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ । सैनिक ऐन, २०६३ अनुसार प्रधानसेनापतिको पदावधि तीन वर्ष र अनिवार्य अवकाशको उमेर ६१ वर्ष रहेको छ ।
अप्रत्याशित परिस्थितिबाहेक विद्यमान सैनिक वरीयताक्रम र नेतृत्व हस्तान्तरणको स्थापित अभ्यासअनुसार अनुपजंग थापा नेपाली सेनाको आगामी प्रधानसेनापति बन्ने प्रमुख दाबेदार हुन् ।
उनको आजको पदोन्नति केवल सैनिक जीवनको अर्को उपलब्धि मात्र नभई नेपाली सेनाको सर्वोच्च नेतृत्वमा पुग्ने यात्राको निर्णायक खुड्किलोसमेत बनेको छ ।








तपाईंको विचार लेख्नुहोस्