तेरो मेरो के कुरा के घर के डेरा


पृथ्वी नै डेरा हो
सबैले भाडा तिर्नु छ।
मान्छे आफैँ पाहुना,
भोलि घर फर्किनु छ।
तेरो–मेरो के कुरा,
के घर, के डेरा।

सामाजिक कथामा निर्मित फिल्म के घर के डेरा: घर नं २ को टिजरको अंश हो यो। पृथ्वी नै डेरा भएको तथ्यलाई उजागर गर्दै फिल्मको टिजर तयार भएको छ।

जति नै तेरो मेरो गरे पनि अन्तिममा पुग्ने घाट नै हो र हुने धुँवा नै हो भन्ने सत्यलाई मानिसले स्वीकार गर्नुपर्ने टिजरले जनाएको छ। अन्ततः मान्छे खाली हात घाट जाने सत्यलाई स्वीकार गर्न नसक्दा अनेक समस्या भइरहेको भाव टिजरमा व्यक्त गरिएको छ। फिल्मले डेरालाई प्रतिबिम्ब बनाएर जीवनको सत्यलाई देखाउने प्रयास गरेको छ।

निर्देशक दीपेन्द्र के खनालले आम दर्शकले फिल्मले कनेक्ट गर्ने र जीवनको सत्यलाई महसुस गर्ने बताए। हरेक व्यक्ति, घर र समाजले कुनै न कुनै समय भोग्ने कथा के घर के डेरा: घर नं २ ले अनुभूत गराउने उनको दाबी छ।

आगामी जेठ २ गते रिलिज हुने फिल्मको कथा पहिलोपटक साहित्यकार बुद्धिसागरले लेखेका छन्। खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारले अभिनय गरेको फिल्ममा कृष्णबहादुर थापाको छायांकन रहेको छ। एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्ममा युवराज कार्की कार्यकारी निर्माता छन्।