नाटक मञ्चन छोडेर सच्चिनुको विकल्प छैन

376
Shares

जीवनमा कतिपय कुराहरु नचाहेर पनि गर्नुपर्दछ । यो संसारमा एउटा अदृश्य शक्ति भनौं कि के भन्ने, उसले हाम्रो ढाडमा रिमोट सोझ्याइराखेको हुन्छ ।

यसैले मानिसको जीवनमा नाटकहरु चलाइराखेको हुन्छ । त्यसैले सकभर सधैँ गाली, कलहजस्ता कुरामा एक–अर्कालाई दोषारोपण मात्र नगरी हामीले राम्रो कर्मको लागि प्रयास गर्ने हो । यसले व्यक्ति, परिवार, समाज र देशको बिस्तारै विकास हुने हो ।


अहिले पनि लोभ, स्वार्थ र केही ज्ञानको कमीले गर्दा मुलुक सुस्त गतिमा गइराखेको छ, जुन सबैले भोगिराखेको कुरा हो । मुलुकमा विकास भएजस्तो देखिए पनि युवा पुस्तालाई उकुसमुकुस भएर उनीहरु विदेशमा जान बाध्य भएका छन् । वास्तवमा यसको तथ्य कारण बुझ्न सकिराखेको छैन ।

हामी नेपालीहरु नै ठीक नभएको हो कि, राज्य ठीक नभएको हो ? अथवा ईश्वरले नै अझै हामीलाई आशिर्वाद दिन नचाहेको हो ? कन्फ्युज । तर अब यस्ता कुरा गरेर पनि फाइदा छैन । न सधैँ गफ, गाली, कलहमा मात्र अल्झेर यो देशको मुहार फेरिने हो । त्यसकारण सबै पक्ष व्यक्ति, समाज, राज्य नै बदलिनु जरुरी छ, जुन अझै नपुग छ ।


शुरुदेखि नै मानिसहरुको पुरानो सोच हाबी भएको छ । गरिबी, भौगोलिक वातावरण तथा राजनीतिक व्यक्तित्वहरुको ज्ञानको कमीका कारण यो देशले राम्रो प्रणालीको विकास गर्न सकेन । यसबाहेक हाम्रो देशमा अल्छी, चापलुसी संस्कार शुरुदेखि नै हाबी थियो, जुन अझै छ । यो पनि देशका लागि ठूलो घातक हो ।

राजतन्त्रको बहिर्गमनपश्चात् देशमा लोकतन्त्र आयो । देश चलाउनेहरुसँग दल चलाउन पैसा थिएन । त्यसैले यिनीहरुले कमिसन खाने, कलकारखाना बेच्ने, विदेशीसँग अन्धाधुन्ध पैसा ऋण, अनुदानसरह माग्ने गरे । यी कारणले गर्दा एकातिर विदेशी ऋणको भार बढ्यो । अर्कातिर उनीहरुले विकासलाई बेवास्ता गरेर संघीयता अपनाई घर बिगार्ने धमिराको रुप लिए, जुन हामीले प्रत्यक्ष देखिराखेका छौं ।

यति मात्र नभई यिनीहरुले आफ्नो दल, आफ्नो मान्छे, कार्यकर्ताको जमातलाई मात्र ध्यान दिन थाले । जनताको समस्या समाधानतिर लागेनन् । यसले गर्दा पनि सर्वसाधारणले लोकतन्त्र आएर पनि सकुशल सास फेर्न सकेनन् । मानिसलाई जसरी जुम्राले सताउने गर्छ, त्यसरी नै जनता सताइएका छन् । दलका कार्यकर्ताले राम्रो कर्म गर्न छोडी नेताहरुलाई मात्र झन्–झन् बलियो बनाउँदै गए । यसले गर्दा पनि यिनीहरुले जनताका लागि राम्ररी काम गर्न सकेनन् । त्यसमाथि राम्रो भिजन नहुनु, एकोहोरो हुनु, घमण्डमा अल्झिनु, बाँडिचुँडी समय खानु नै देश सुस्त हुनुको एउटा कारण मान्न सकिन्छ ।


राज्यले नागरिकको जीवनयापनलाई सहज बनाउन सकेन । यहाँ सुस्त किसिमले विकास भए पनि धेरैजसो स्कुल, कलेज, हस्पिटल आदिको विकास प्राइभेट सेक्टरबाट नै भएको छ । तर यी संस्थाबाट सेवा लिन सर्वसाधारणलाई निकै धौ–धौ परेको छ । यसबाट नेताहरुलाई पार्टी चलाउन भने टेवा पुगेकै होला । बाँकी उनीहरुले कर रकम, रेमिट्यान्स, विदेशी दाता आदिको मालपानीमा रजाइँ गर्ने त छँदै छ, जुन भनिराख्नुपर्ने कुरा होइन ।


अहिलेको परिप्रेक्ष्यमा पहाड–तराईका गाउँ शून्य छन् । जबकि त्यहाँ खाद्यान्न, फलफूल, सब्जी, मत्स्यपालन आदिमा राज्यले जोड दिएर युवा पुस्तालाई यहीँ नै रोजगारको सृजना गर्न सकिन्थ्यो । यति कुरामा पनि नेताहरु तथा राज्यले ध्यान पु¥याउन सकिराखेको छैन, यो नै दुःख लाग्दो कुरा छ ।


यसमा युवाहरुको पनि केही दोष नभएको पक्का पनि होइन । युवाहरुले म्यानपावरलाई खुवाउने जुन रकम छ, त्यही रकम लगानी गरेर देशमै केही गर्नुपथ्र्यो । उनीहरुले धैर्य, सन्तोष र मेहनत गरी आफ्नै देशमा स्थान जमाउन चाहेनन् । यसले गर्दा गाउँ युवाविहीन भयो । परिवारको बिचल्ली भयो ।

विदेशमा गएर पनि आफ्नो जोखिम उठाउनुप¥यो । हुन त यो बहादुरी हो कि यिनीहरुको कर्मको भोग हो ? यिनीहरुले पठाएको रेमिट्यान्स नेताहरुको खप्परमा खान लेखिएको हो कि ? त्यो कुरा भने बुझ्न सकिएन । अहिले देशमा संघीयताका नाममा सरकार धेरै नै भए पनि मुलुकले सकी नसकी धानी राखेको छ । तर राज्यलाई यसको परबाह छैनजस्तो लाग्छ । किनकि सर्वसाधारणको कर, विदेशमा बस्ने युवाहरुको रगत–पसिनाको रेमिट्यान्स, अनि दाताको नुनले देशलाई धानी राखेको छ ।


तर वास्तवमै सोच्ने हो भने, नागरिकको जीवन कष्टकर हुँदै गएको छ । देशका अधुरा राजमार्ग–पुलले पूर्णता पाएका छैनन् । बेरोजगारी, महँगी, बेरोजु दिनप्रतिदि बढिरहेको छ । कृषि, व्यापार आदिमा मुलुक एकदम नै सुस्त छ । यस्तो हालतमा पनि राज्य गाली, कलह, फाल्तु गफ, भाषण, अन्तर्वार्ता आदिमा अल्झिराखेको छ ।

जबकि देशमा समस्या हुँदा समाधान गर्न सकिएन भने आफूले ओगटेको सिट छोड्नुपर्ने हो, खोइ त ? यसो हेर्दा हामी कर्मखोटा नेपालीहरुको राम्रो दिन आउन अझै बाँकी छ जस्तो लाग्छ । यहाँ देश चलाउनेहरु मुलुक बनाउनका लागि सुस्त छन्, तर यहाँका व्यक्ति, समाज नौरङ्गीका छन् ।

लामखुट्टे, चिप्लेकीरा, झुसुले कीरा, जुम्रा, उपियाँजस्ता मानिसहरु पनि उत्तिकै छन् । यस्ताहरुको विशेषता भनेको नै नेताहरुको चाप्लुसी गर्नुपर्ने र गलत नेताहरुलाई जिताउनुपर्ने हो । स्वार्थी, अन्धविश्वासी, गफाडी, विदेशप्रेमी, मुलुकप्रति योगदान गर्न नचाहने आदि हुनु पनि यो देशको विडम्बना र हाम्रो दुर्भाग्य हो ।

दलहरु इगोको लडाइँमा अल्झने हो भने यो मुलुकको अवस्था सधैँ यस्तै भइरहन्छ । त्यस कारण एकपल्ट सबै पक्ष ढिड, एकोहोरो, घमण्डी, असन्तोषी, स्वार्थी, लोभी नभई बदनिनु जरुरी छ अनि मात्र मुलुक राम्रो हुने हो ।