नवलपरासी पूर्वका सबै क्याम्पसमा स्ववियु निर्वाचन स्थगित


नवलपरासी ।

आगामी चैत ५ गते हुने भनिएको स्ववायु निर्वाचन नवलपरासी पूर्वका सबै क्याम्पसमा स्थगित भएको छ ।

निर्वाचन कार्यपालिका अनुसार प्रक्रिया अगाडि बढ्न नसक्दाको कानुनी अड्चन तथा विभिन्न क्याम्पसमा देखिएका असहज परिस्थितिले स्ववायु निर्वाचन स्थगित गर्नु परेको नेपाल पब्लिक क्याम्पस संघ नवलपुरका अध्यक्ष गुरु सुबेदीले बताए ।

सुरूका दिनमा विद्यार्थी संख्या पुगेका यहाँका विभिन्न १० क्याम्पसमा नेविसंघ,अखिल क्रान्तिकारी र एमाले तथा नेकपा समाजवादी निकट अनेरास्ववियु ४ विद्यार्थी संगठनले सम्बद्ध क्याम्पस प्रशासनमा स्ववायु निर्वाचन गराउन माग गरेका थिए ।


त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार स्ववियुको चुनाव गर्ने गरी सम्बद्ध क्याम्पसहरूले जिल्ला पब्लिक क्याम्पस संघको फागुन २० को निर्णय अनुसार त्रिवि कार्यक्रम अनुसारनै निर्वाचन कार्य तालिका निकालेका थिए ।
सोही तालिका अनुसार कतिपय क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अघि बढेको अवस्थामा असहज स्थिति उत्पन्न भई फागुन २७ को उम्मेदवारी दर्ता प्रक्रिया अवरुद्ध हुन गएकोले स्ववायु निर्वाचन स्थगित गर्नु परेको पब्लिक क्याम्पस संघ नवलपुरले जनाएको छ ।


बताईए अनुसार जिल्लामा स्ववायु निर्वाचन हुने भनिएका सबै क्याम्पसका निर्वाचन कार्यालयमा दुवै अनेरास्ववियुले संयुक्त तवरबाट हाल ताला वन्दी गरेका छन् । सुरूमा चुनावी प्रयोजनका लागि क्याम्पस भर्ना भएका विद्यार्थीहरूको फोन नम्बर र नाम ठेगाना स्ववियु निर्वाचन कार्यालयले विद्यार्थी संगठनहरूलाई उपलब्ध गराउनु पर्ने एमाले निकट अनेरास्ववियु बाहेकका अन्य विद्यार्थी संगठनहरूले मध्य विन्दु क्याम्पसमा माग गरेका थिए ।


सो विषयमा मध्य विन्दु क्याम्पस स्ववायु निर्वाचन कार्यालयले विद्यार्थीको गोपनीयताको विषय मोबाइल नम्बर सार्वजनिक गर्न नसकिने जनाए पछि ती विद्यार्थी संगठनहरूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । उम्मेदवारी दर्ता मिति नजिकिदै जाँदा नेबिसंग लगायत विद्यार्थी संगठनहरूले पहिला लगाएका ताला खोली निर्वाचन प्रक्रियामा आँफुहरू लागि रहेको एक विद्यार्थी नेताले बताए ।


सोही तालाबन्दीकै विषय बिच अनेरास्ववियुले एका एक अन्य क्याम्पसहरूमा तालाबन्दी गरिदिँदा परिस्थिति असहज भई निर्वाचन कार्यपालिका प्रभावित भएको जानकारहरू बत्ताउँछन् । पब्लिक क्याम्पस संघले स्थानीय कुमार वर्ती बहुमुखी क्याम्पस कावासोतीमा बुधवार पत्रकार सम्मेलन गरी उत्पन्न असहज परिस्थितिले त्रिवि स्ववायु निर्वाचन निर्देशिका २०८१ को थप बुँदा १२ अन्तर्गत ६ नम्बर बुँदा पूर्ण प्रभावित भएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।


स्ववायु स्थगित भए पछि यसै विषयमा नेविसंघ र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आयुष ढकालले अनेरास्ववियुले सबै क्याम्पसमा आफूहरू पराजित हुने भयले विद्यार्थीका हक अधिकार कुण्ठित पार्दै तालाबन्दीमा उत्रिएको आरोप लगाएका छन् ।
नेविसंघ स्ववियु निर्वाचनमा एकल ढंगले स्वतन्त्र निर्वाचन लड्ने मनस्थितिमा छ भने अखिल क्रान्तिकारी विद्यार्थी अधिकार सुरक्षित राख्न चुनाव गराउनु पर्ने पक्षमा रहँदै आएको बताइन्छ ।


यही विषयमा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष हरि सुबेदीले आफ्नो संगठन अझै पनि परिस्थितिलाई सम्हाल्न पब्लिक क्याम्पस संघ सहित सबै क्याम्पस प्रशासन जिम्मेवार भई विद्यार्थीको स्ववायु अधिकार माथि खेलबाड नगरी स्ववायु निर्वाचनको नयाँ कार्य तालिका अविलम्ब ल्याउन एक विज्ञप्ति मार्फत माग गरेका छन् ।


उनले स्ववायु निर्वाचनमा विद्यार्थीहरू होमिई सकेको अवस्थामा आफ्नो संगठले देखाइएको सदस्यतालाई नजर अन्दाज गरिरहे नेवि संघले सबै क्याम्पसमा लागेका ताला फोड्न पछि नपर्ने र विकसित परिस्थितिको जिम्मेवारी सम्बद्ध क्याम्पस प्रशासनले लिनु पर्ने बताए ।


यता तालाबन्दीको विषयमा अनेरास्ववियु गण्डकी प्रदेश कमिटी अध्यक्ष ठाकुर पराजुलीले जिल्लाका कतिपय क्याम्पस स्ववायु निर्वाचन कार्यालयले आफ्नो संगठनलाई आचार संहिता निर्माणमा खबर तथा समन्वयनै नगरी अघि बढेको र फर्जी विद्यार्थी भर्ना गरी वास्तविक विद्यार्थी अधिकार हनन गरेका कारण संयुक्त रूपमा अनेरास्ववियुले जिल्ला स्थित स्ववायु निर्वाचन हुने भनिएका क्याम्पसहरूमा तालाबन्दी गरेको जनाएका छन् ।


यद्यपि नेपाल पब्लिक क्याम्पस संघले स्ववायु निर्वाचन स्थगित गरी विद्यार्थीको स्वतन्त्र अधिकार कटौती गरेकोमा पराजुलीले आपत्ति प्रकट गरेका छन् । अघिल्लो पटक जिल्लाका ६ क्याम्पसमा स्ववायु निर्वाचन भएको थियो । यस पटक यहाँको पुरानो कुमार वर्ती बहुमुखी,मध्य विन्दु,नवजागरण, अरू खोला बहुमुखी,जनज्योति,देबचुली कलेज,एसपिएम,जनक,कालिका संस्कृत र जनमुखी आदर्श कलेज गैडाकोटमा स्ववायु निर्वाचन हुने कार्यक्रम तय भएको विद्यार्थी संगठनहरूले बताए ।


यस्तै नवलपरासी पश्चिममा भने स्ववायु निर्वाचन हुने भनिएका पाल्ही क्याम्पस परासी,दिव्य ज्योति बर्दघाट र त्रिभुवन क्याम्पस बेलाटारीमा विद्यार्थीहरूले मनोनयन दर्ता गरी सकेका छन् ।