काठमाडौं ।
कुनै बेला ए डिभिजन लिगका शान बनेको टोली रानीपोखरी कर्नर टिम (आरसीटी) को बी डिभिजन लिगमा खराब शुरुवात भएको छ । शहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१–८२ अन्तर्गत मंगलबार भएको खेलमा आरसीटी श्री भगवती क्लबसँग ३–१ ले हारेको हो ।
एन्फा मैदानमा भएको सो खेलमा पहिलो गोल आरसीटीले गरे पनि भगवतीले पछि ३ गोल गरेर जित हासिल गरेको थियो । त्यसो त भगवती १० खेलाडीमा सिमित भएको थियो । यसको फाइदा आरसीटीले लियो पनि ।
खेलको ३३ औं मिनेटमा विपक्षी खेलाडीलाई हातले फाउल गरेपछि भगवतीका कप्तान समीर राई सोझै रातो कार्ड हेर्दै मैदानबाट बाहिरिएका थिए । तीन मिनेटपछि आरसीटीले गोल गर्न सफल भएको थियो । आरसीटीले निखिल तामाङको गोलमार्फत पहिलो हाफमा १–० ले अग्रता लिएको थियो ।
तर, दोस्रो हाफमा भगवतीका लागि विक्रान्त नरसिंह राना र विशाल विक्रम सिलवालले गोल गरे । एक गोल आत्मघाती थियो । दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र टुसाल युवा क्लबले १–१ को बराबरी खेलेका थिए ।
आरसीटी ए डिभिजन लिगमा ६ पटक उपाधि जित्ने टोली हो । तर, केही सिजन अघिदेखि जमलस्थित यो टोलीले बी डिभिजनमै खेलिरहेको छ । ए डिभिजनमा पुनः बढुवा हुन टोलीले संघर्ष गरिरहेको छ ।
प्रतिक्रिया