पूर्व एन्फा अध्यक्ष थापाद्वारा महासचिव राईविरुद्ध मुद्दा दर्ता


काठमाडौं ।


अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले वर्तमान एन्फाका महासचिव किरण राईविरुद्ध मुद्दा दर्ता गरेका छन् । थापाले मंगलबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतिको मुद्दा दर्ता गरेका हुन् । उनले यसअघि साइबर ब्यूरोमा राईविरुद्ध उजुरी दिएका थिए ।


राईले फागुन १७ गते एक टेलिभिजन अन्तरवार्तामा थापाको विषयमा बोलेका थिए । यही विषयलाई लिएर थापाले उजुरी दिएको बताए । मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले आफूमाथि झुठा र तथ्यहिन आरोप लगाएको भन्दै कानुनी कार्वाहीको प्रक्रिया अपनाउने क्रममा जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको थापाले जानकारी दिए ।


‘एक टेलिभिजन अन्तरवार्ताका क्रममा एन्फाका महासचिव किरण राईले ममाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति सुद्धिकरणको छानविनपछि मैले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर मेरो चरित्रहत्या गर्ने प्रयास गर्नुभएको छ,’ थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


उनले थपे–‘मैले उहाँको अन्तरवार्ता आएलगत्तै सामाजिक सञ्जालमार्फत उहाँलाई ममाथि लगाएका आरोप प्रमाणित गरेर मलाई कानुन अनुसार कार्वाही गर्न चेतावनी दिएको थिएँ । अथवा आफै आत्मालोचना गर्न पनि मैले उहाँलाई अनुरोध गरेको थिएँ । तर उहाँले त्यसलाई समेत बेवास्ता गरेपछि बाध्य भएर नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमा पनि कानुनबमोजिम छानविन गरि कार्वाहीका लागि उजुरी दिएँ । साइबर ब्यूरोमा मेरो जाहेरी नम्बर ११९८९ छ । उहाँले अहिलेसम्म आफ्नो भनाइ नसच्याएको र आत्मालोचना पनि नगरेको हुँदा मैले काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा दायर गरेको छु ।’


थापाले आफूलाई कानुनी राज्यको हिमायती बताउँदै महासचिव राईले अन्तरवार्तामा भनेझै ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा छानविन गरि दोषी प्रमाणित भए कानुनअनुसार कार्वाही भोग्न तयार रहेको पनि बताए ।