पत्रकारिता पेसामा म सधैँ जोखिम रुचाउँछु । जोखिमले सत्यलाई स्थापित गर्ने मेरो विश्वास छ । त्यसैले म आफूलाई असुरक्षित महसुस गर्दागर्दै पनि समाचारको सुरक्षा गर्न जोखिम यात्राको लागि तयार रहन्छु । गाँउघरको फेरो मार्दै स्थलगत रिपोर्टिङबाट थोरै भए पनि तथ्यका खुराक पस्कन पाउँदा मनमा नयाँ स्फूर्ति पैदा हुन्छ ।
कतिले भन्ने गर्छन्– पत्रकार सधैँ स्थलगत नै पुग्ने भए आधुनिक प्रविधिको के काम भयो ? स्रोतलाई टेलिफोन गर्ने, फोटो पठाउन लगाउने, बनिहाल्यो समाचार ! कुरा त ठिक्कै हो, एउटा समाचारको लागि जोखिम मोलेर स्थलगत पुग्नु भनेको त प्रविधिको यो युुगमा मुर्खता नै ठानिएला ।
तर त्यसो हैन, एउटा रिपोर्टर स्थलगत पुगेर तयार गरिएको समाचार र प्रविधिको उपयोग गरेर घरबाटै बनेको समाचारको भिन्नता असली पाठकले सहजै पहिल्याउन सक्छन् र तत्कालै सामाजिक सञ्जालमार्फत त्यही अनुसारको प्रतिक्रिया दिइहाल्छन् । प्रविधिको प्रयोग त गर्ने तर स्थलगत पुगेरै ।
जतिसुकै जोखिम भए पनि स्थलगत रिपोर्टिङको मजै अर्को । यसो साथीभाइलाई डिङ हाँक्न पनि पाइने, ग्रामीण भेगका स्रोतले भोगेको पीडा र आफ्नो पौरखमा रमाएको खुशीसँग साक्षात्कार गर्न पनि पाइने । म आफूलाई जोखिम रिपोर्टरको हकदार दाबी गर्छु । तर मेरो स्रोतले परिवारको खुशीको लागि उठाएको जोखिम देखेपछि मेरो दाबी आफैँ गलत साबित हुन्छ । त्यसैले पनि हरेक पत्रकार रिपोर्टिङको लागि स्थलगत नै पुग्न जरुरी छ ।
नत्र घरमा बसेर समाचार बनाउने र आफूलाई एक नम्बरको जोखिम रिपोर्टर दाबी गर्ने हामी पत्रकारहरुको मानसिकतामा कहिल्यै परिवर्तन हुँदैन ।हामी त जोखिम रिपोर्टिङको क्रममा केही मिनेट मरेर बाँच्छौं, गाउँघरमा मजदुरी गर्ने मानिस त परिवारको खुशीकै लागि प्रत्येक दिन मरेर बाँचिरहेका हुन्छन् । यस्तै एउटा कथा छ, अजङ्गको भीर कोपेर पैदलमार्ग बनाउने मजदुरहरुको कथा !
दोलखाको बिगुु गाउँपालिका वडा नम्बर–१, लामाबगरबाट गौरीशङ्कर गाउँपालिका वडा नम्बर–९ रिकुु जोड्ने पैदल मार्गमा एउटा अजङ्गको भीर छ– ‘चिम्लिङको भीर’ । अहिले यही भीर कोपेर पैदलमार्ग बनाउन १३ जना मजदुुरहरु अहोरात्र खटिरहेका छन् । माथिल्लो तामाकोशी हाइड्रोपावरले रिकुका बासिन्दाको सहजताको लागि यो पैदलमार्ग निर्माण गरिरहेको छ ।
कान्तिपुरकर्मी केदार शिवाकोटी र फोटो पत्रकार जीवन लामाले भीरमा भविष्य खोजिरहेका मजदुरको कथा उधिन्न त्यता जाने तारतम्य मिलाएका हुुन् । यो २०८१ पुस अन्तिम साताको कुरा हो । हामी लामाबगरबाट गन्तव्य लाग्यौं, चिम्लिङको भीर छिचोल्दै रिकु पुग्न । झन्डै चार किलोमिटरको निर्माणाधीन पैदलमार्गमा लामाबगरबाट रिकुु छिचोल्न हामीलाई निक्कै कठिन भयो । निर्माणाधीन यो मार्गमा चिम्लिङको भीरको ६० मिटर जति पार गर्न डोरी समातेर झुन्डिनुपर्ने अवस्था थियो । किनभने माथि समाउन डोरी भए पनि तल खुट्टा टेकाउन चिप्लो भीरबाहेक अरु केही थिएन ।
६० मिटरको जोखिम मार्ग पार गर्न लागेको झन्डै १० मिनेट हामी तीनैजना (केदार, जीवन र म) मरेर बाँचेका थियौं । त्रास, लापर्बाही वा कुनै पनि कारणले माथिको डोरी छोडिन्थ्यो भने तल टेक्ने ठाउँ नभएकोले सिधै खोलामा पुग्नुको विकल्पै थिएन । डोरी समातेर पार गर्नुपर्ने जोखिम मार्ग रोज्ने कि लामाबगरतिरै फर्कने भन्ने दोधारमा हामी तीनैजना थियौं । मनमा त्रास थियो तीनैजनाको । भीर पार गर्न सकिन्छ वा आफैं सकिइन्छ भन्ने त्रास । तर हामी तीनैजनाले आफ्नो मनभित्रको त्रास देखाउन चाहेनौं र जोखिम मार्गबाट रिकुुको गन्तव्य पहिल्याउने सामूहिक निर्णय ग¥यौँ । अनि, झन्डै १० मिनेट मरेर बाँच्यौं ।
यात्राको क्रममा हामीले पैदलमार्ग निर्माणमा जुुटेका मजदुरहरुसँग कुरा ग¥यौं । उनीहरु हामीजस्तै पथप्रदर्शकको सहजता र परिवारको भविष्यको लागि त्यही भीरमा प्रत्येक दिन मरेर बाँचिरहेका थिए । सिन्धुलीबाट परिवारको भविष्य खोज्दै चिम्लिङको भीरमा मजदुुरी गर्न आएका गोपाल मगर प्रत्येक दिन मरेर बाँचिरहेका एउटा पात्र हुुन् । भीरकै कुनै कुनामा रातको विश्रामस्थल रहेको स्थानबाट प्रत्येक बिहानी त्रासको मजेत्रो ओढेर काममा निस्कन्छन् गोपाल !
दिनभरिको भविष्य अनिश्चित लाग्छ, गोपालले आफ्नो पीडा सुुनाए– बिहान काममा निस्किएपछि राति त्यही बिछ्यौनामा बास हुुन्छ कि हुँदैन, ठेगानै छैन । हामी यो भीरमा प्रत्येक दिन मरेर बाँचिरहेका छौं ।’ गउनले अगाडिले भने– ‘हाम्रो विवशता छोराछोरी र परिवारको भविष्यसँग गाँसिएको छ । हामीले मृत्युसँग संघर्ष नगर्ने हो भने परिवारका सदस्यहरु पीडाको दलदलमा प्रत्येक क्षण मरिरहेका हुनेछन् ।’
उमेरले विश्राम खोजिरहेको गौरीशङ्कर–१, रिकुुका ६४ वर्षीय नेत्रबहादुर खड्का पनि चिम्लिङको भीरमा प्रत्येक दिन मृत्युुसँग साक्षात्कार गरिरहेका अर्का पात्र हुुन् । ‘म परिवारको लागि बाँचेको छु’, नेत्रबहादुुर भन्दै थिए– ‘मेरो संघर्ष परिवारमा समर्पित छ । सूर्योदयको सप्तरङ्गी किरणहरुले मलाई त्रासको गोरेटोमा डो¥याउँछन् । म परिवारको स्नेहले मन बाँधेर मृत्युको भीरलाई जितिरहेको छु ।’
मजदुरका यस्ता पीडा सुनेर हामी तीनैजना स्तब्ध भयौं । १० मिनेट मरेर बाँच्दा हामीले आर्जन गरेको बहादुरी प्रत्येक दिन मरेर बाँचेका ती १३ जना मजदुुरको कथाले घुर्मैलो पारिदिएको छ । मैले आफ्नो विगत सम्झिएँ । रिपोर्टिङको क्रममा लाँकुरीडाँडा र छ्योतछ्योतको पहिरोमा मैले मृत्युको त्रास भोगेको थिएँ । त्यति बेलाको बहादुरीको किस्सा निकै समय सहकर्मीहरुलाई सुनाएको हो । यी १३ जना मजदुरको बहादुरीका अगाडि मेरो किस्सा अब धेरैलाई सुनाउन आवश्यक ठान्दिन । प्रत्येक दिन मृत्यु जितेर अघि बढ्ने यी मजदुरहरु महान् छन् ।
बालबच्चा, परिवार, आफन्तजस्ता शब्द असाध्य ओझिलो लाग्छन् । यी सबै स्नेहका आडिला अडेसा हुुन् । अविभावकको जिम्मेवारीबाट अघि बढ्दै गर्दा परिवारको अडेसाको परिकल्पनाले मृत्युलाई सजिलै परास्त गर्न सकिने रहेछ । टेक्ने न समाउने अवस्थाको अजङ्गको चिम्लिङको भीरमा बाटो पहिल्याउँदै गर्दा त्रासको बोझले मजदुरका हातखुट्टा थरथर कामेर तामाकोशीको नीलो पानीको बहावमा हेलिँदै हराउने दिन आइसक्थ्यो होला । आफ्ना बालबच्चा र परिवारको भविष्यले मजदुरका हातखुट्टा कसिला बनाइदिएका छन् । त्यसैले उनीहरु प्रत्येक दिन मरेर बाँचिरहेका छन् ।
चिम्लिङको भीरमा मृत्यु जितेर मजदुरी गरिरहेका १३ जनाको विवशता बुझेपछि एउटा खुलदुलीको उच्छवासले मनलाई तमतम्याइलो बनाइदिएको छ । परिवारको लागि जोखिम मोलेर प्रत्येक दिन मर्दै काममा घोट्टिइरहेका यी मजदुरका छोराछोरीले आफ्ना अभिभावकलाई कामको जशचाहिँ दिएका छन् कि छैनन् होला ! आफ्नो अभिभावकको विवशतामा भविष्य पढिरहेका ती छोराछोरीले समयको एउटा विन्दुमा पुगेपछि आफ्ना बाबु–आमाको जिम्मेवारी लिने शङ्कल्प गरेका छन् कि छैनन् होला !
हाम्रो रिपोर्टिङको एउटा पाटो यो पनि हुनुपर्छ जस्तो लाग्छ ।
मृत्यु जित्दै काममा गतिशील रहेका यी मजदुरहरु को घर–घरमा पुगेर उनीहरुका छोराछोरी र परिवारका अन्य सदस्यहरुसँग भेटघाट गर्ने र आफ्ना अभिभावकप्रतिको दृष्टिकोण बुझ्ने । समाचारको एङ्गललाई हामीले यसरी बुझ्छौं कि बुझ्दैनौं वा यो एङ्गलबाट समाचार बन्छ कि बन्दैन, थाहा छैन । तर यो समाचार बनाउनुपर्ने विषय हो भन्ने मलाई लाग्छ । नत्र अहिले धेरै त्यस्ता ज्येष्ठ नागरिकहरु पनि देखिएका छन्, जसले बाहुबल हुँदासम्म छोराछोरी र परिवारको लागि मेहनत गरे, बल र उमेरले थलिँदै गएपछि वृद्धाश्रमको ढोका ढकढक्याउन बाध्य भए ।
उमेरको एउटा विन्दुमा पुगेपछि नाति–तातिना खेलाउँदै छोराछोरीको आश्रयमा रमाउने परिकल्पनासँग मृत्यु जितेर उमेरको पसिना बगाउने ज्येष्ठ नागरिकहरुको सपना वृद्धाश्रमको एउटा सानो कोठामा थन्किएको कथाले कति धेरै पीडा दिन्छ !
अब हामी, उमेरमा बाहुबल कस्दै परिवारको जिम्मेवारीमा मृत्यु जित्नेहरुका छोराछोरीका मानसिकता अभिभावकको जिम्मेवारीप्रति चाहिँ कस्तो रहेछ भनेर खोजी गर्दै ती मजदुरहरुको घर–घर पुग्नै पर्ला ।
हाम्रो रिपोर्टिङको गन्तव्य टुङ्ग्याउन ती छोराछोरीको मानसिकतालाई समाचारमा लिपिबद्ध गर्नै पर्ला । यसमा केदार र जीवनहरुको प्रतिक्रियाचाहिँ के होला ?











प्रतिक्रिया