दाेलखा ।
असाेज ९ गते शुक्रबारबाट तीन दिनसम्म हावा-हुरी- चट्याङ सहित भारी बर्षाकाे सम्भावना रहेकाे नेपाल माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाकाे सूचना पछि सशस्त्र प्रहरी बलले दाेलखाकाे विभिन्न स्थानमा माईकिङ गर्दै सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरिरहेकाे छ ।

बाढी- पहिराेकाे बढी जाेखिम रहेकाे जिल्लाकाे कालिञ्चाेक, विगु र गाैरीशङ्कर गाउँपालिकाकाे सिंगटी, लापिलाङ लगायतका क्षेत्रहरूमा बुधबार साँझबाट माईकिङ गर्दै सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरिएकाे सशस्त्र प्रहरी बल बिपद् प्रतिकार्य बेस सिंगटीका सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीले बताए ।
सशस्त्र प्रहरी बलले माईकिङ तथा विभिन्न स्थानका स्थानीय नागरिकलाई भेटेरै खाेला- किनार तथा पहिराेकाे जाेखिम रहेकाे स्थानमा नबस्न, त्यस्ता ठाउँमा रहेका नागरिकहरू सुरक्षित स्थानमा जान, बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला, अशक्त व्यक्तिहरूकाे विशेष ख्याल राख्न आग्रह गरिएकाे सशस्त्र प्रहरी नायव निरीक्षक कार्कीले बताए ।
सशस्त्र प्रहरी बलले माईकिङ तथा भेटघाट मार्फत खाेला- किनार तथा पुलबाट जाेखिमपूर्ण यात्रा नगर्न, माेवाईल, टर्च, सुख्खा खानेकुरा लगायत अत्यावश्यक कुराहरू सुरक्षित राख्न, पैसा, सुन- चाँदि, महत्वपूर्ण कागजात, ओखती लगायतका महत्वपूर्ण कुरा छुट्टै झाेलामा राख्न तथा आफुसंगै सुरक्षित बाेक्न, सामाजिक सञ्चालमा आएका अपुष्ट समाचार- सूचनाकाे भर नपरी आधिकारीक सूचनामा मात्र विश्वास गर्न, आफ्ना छिमेकीहरू लाई सुरक्षित रहन आग्रह गर्न र अनावश्यक हिडडुल नगर्न आग्रह गरेकाे छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय दाेलखाले पनि असाेज ९ गते शुक्रबारबाट तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पाेखरेलले जारी गरेकाे सूचनामा जाेखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन, आवश्यकता अनुसार यातायात बन्द गर्न, स्वदेशी तथा विदेशी नागरिकले यात्रा गर्दा उच्च सतर्कता अपनाउन, जाेखिमयुक्त क्षेत्रका नागरिक सुरक्षित स्थानमा सर्न र खाेज तथा उद्दार सामग्रि तयारी अवस्थामा राख्न आग्रह गरिएकाे छ ।











प्रतिक्रिया