काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलको भूमिका थप प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल भएको छ ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालको अध्यक्षतामा भएको छलफलमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिलगायत सहभागी थिए । छलफलमा डा. अग्रवालले काउन्सिल डाक्टरको परीक्षा लिने र अनुमतिपत्र प्रदान गर्ने निकायमा मात्र सीमित नभई योग्य तथा दक्ष चिकित्सक उत्पादन र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने महत्वपूर्ण संस्था भएको बताए । काउन्सिलका प्रतिनिधिले चिकित्सकको गुणस्तर सुधारका लागि ज्ञानमा आधारित परीक्षासँगै सीपमा आधारित परीक्षा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।
उनीहरूले परीक्षा प्रणालीलाई विकेन्द्रीकरण गर्नुपर्ने, आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन गर्नुपर्ने तथा सूचना प्रविधिको प्रयोग र संरचना सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए । छलफलमा काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा उत्तीर्ण हुने चिकित्सकको प्रतिशत न्यून हुनुका कारणबारे समेत चर्चा भएको थियो ।
विद्यार्थी छनोट प्रक्रियादेखि चिकित्सा शिक्षाको गुणस्तरसम्म सुधार गर्नुपर्ने विषय छलफलमा उठाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अन्य सहभागीले पनि काउन्सिलको कामलाई थप प्रभावकारी बनाउन आवश्यक सुधार तथा सरकारी सहयोगका विषयमा धारणा राखेका थिए । जवाफमा स्वास्थ्य सल्लाहकार डा. अग्रवालले जनताका गुनासा शीघ्र सम्बोधन गर्न तथा मर्यादित स्वास्थ्य सेवा र गुणस्तरीय चिकित्सक सुनिश्चित गर्न काउन्सिललाई आग्रह गरे । काउन्सिलका जायज आवश्यकता सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले प्रविधि तथा आवश्यक अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।











प्रतिक्रिया