काठमाडौं ।
भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा आइतबार राती बी टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेलापरेपछि उक्त क्याम्पसमा अध्ययनरत नेपाली विद्यार्थीहरू आन्दोलित भएका छन् ।
भारतीय सञ्चार माध्यमले मृतकको शव शंकास्पद अवस्थामा फेला परेको जानकारी दिएपछि उनीहरूले मृतकको न्यायको माग गर्दै क्याम्पसअगाडि प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरूले मृतक प्रकृतिका लागि न्यायका साथै यस मामिलामा गैर जिम्मेवारी प्रदर्शन गर्ने अधिकारीहरूलाई पनि कारबाहीको माग गरेका थिए । स्थिति तनावग्रस्त भएपछि नियन्त्रणमा लिन दुई प्लटुन प्रहरी नै परिचालन गरिएको थियो ।
प्रकृतिको मृत्युको कारण खुल्न नसके पनि सोही क्याम्पसका मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत एक पुरुष साथीले दुव्र्यवहार गरेपछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । यतिबेला सामाजिक सञ्जालमा उक्त पुरुष साथीबाट प्रकृतिले अति नै दुव्र्यवहारको सामना गर्नुपरेको र उनले गत महिनामा नै यो कुरा क्याम्पसको इन्टरनल रिलेसन्स अफिस (आईआरओ) मा रिपोर्ट गरेको तर कलेज प्रशासनले त्यसमा कुनै सहयोग नगरेको भन्ने थ्रेड भाइरल छ । साथै सामाजिक सञ्जालमा आरोपित पुरुष र प्रकृतिबीच भनिएको एउटा भ्वाइस नोट पनि भाइरल भएको छ, जसमा प्रकृतिलाई दुव्र्यवहार गरिरहेको सुन्न सकिन्छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ओडिसामा प्रभावित नेपाली विद्यार्थीहरूलाई परामर्श दिन नयाँ दिल्लीस्थित दूतावासबाट दुई जना अधिकारी खटाइएको बताउनुभएको छ । उहाँले ती विद्यार्थीहरूलाई इच्छाअनुसार छात्रावासमै बस्न वा स्वदेश फर्कन सक्ने व्यवस्था मिलाइएको पनि ट्विट्रमार्फत जानकारी दिनुभएको छ ।
त्यसै गरी ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि नेपाली विद्यार्थी लम्सालको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका बारेमा समाचारहरू सामाजिक सञ्जाल तथा मिडियामा आएपछि यस सन्दर्भमा आवश्यक कूटनीतिक पहल थालेको जानकारी दिनुभएको थियो ।
उहाँले भारतका लागि नेपालका राजदूत डा. शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर आवश्यक तत्परता लिई काम गर्न निर्देशन दिएको बताउनुभएको थियो । उहाँले सोमबार दिउँसै नेपाली विद्यार्थीको सुरक्षाको प्रबन्धका लागि पनि आफूले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग फोनमा कुराकानी गरेको जानकारी दिनुभएको थियो ।
सोही घटनामा मृतकका लागि न्याय माग्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको थियो । यसैबीच भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी प्रकृतिको मृत्युप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
दूतावासले आफू केआईआईटी र ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र उक्त घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिएको छ । साथै क्याम्पस प्रशासनले कक्षा पुनः सञ्चालन गरी नेपाली विद्यार्थीको शैक्षिक क्षति हुन नदिने प्रत्याभूति दिलाएको पनि दूताबासले जनाएको छ । प्रकृतिको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पतालमा पठाइएको छ ।
केआईआईटीद्वारा नेपाली विद्यार्थीलाई पुनः कक्षामा फर्कन आग्रह
कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले क्याम्पस तथा होस्टेललाई सामान्य अवस्थामा ल्याएर शैक्षिक गतिविधि पुनः शुरू गराउने प्रयास भइरहेको भन्दै क्याम्पस छाडिसकेका वा छाड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीहरूलाई फर्कन गर्न अपिल गरेको छ । क्याम्पसले सोमबार साँझ आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत यस्तो अपिल गरेको हो ।
अपिलमा भनिएको छ– ‘हिजो बेलुकी अबेर केआईआईटी क्याम्पसमा दुर्भाग्यपूर्ण घटना घटेको थियो । उक्त घटनापश्चात् तत्कालै प्रहरीले अनुसन्धान गरी दोषीलाई पक्राउ गरेको छ । क्याम्पस प्रशासनले क्याम्पस तथा होस्टलमा सामान्य अवस्था पुनःस्थापित गरी शैक्षिक गतिविधि पुनः शुरू गराउन सबै प्रयासहरू गरेको छ । क्याम्पस छाडिसकेका वा छाड्ने योजना बनाएका हाम्रा सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई पुनः फर्केर कक्षा सञ्चालन गर्न अनुरोध गरिन्छ ।
यसअघि घटनाको सत्यतथ्य छानबिनको माग गरेर प्रदर्शनमा उत्रिएपछि कलेजले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटनालाई सहज र पूर्वाग्रहरहित तरिकाले अनुसन्धानलाई निरन्तरता दिन भन्दै नेपाली विद्यार्थीलाई घर जान भनेको थियो । तर, नयाँ दिल्लीस्थित नेपाली दूतावासले यसमा चासो देखाउँदै केआईआईटीका रजिस्टारलगायतसँग कुराकानी गरेपछि क्याम्पसले नेपाली विद्यार्थीहरूको छात्रावास र कक्षा सञ्चालन गर्न व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको थियो ।
प्रतिक्रिया