काठमाडौँ ।
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान (नास्ट) का वैज्ञानिक तथा कर्मचारीहरू विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको राजीनामा माग्दै शुक्रवार विरोध प्रदर्शन गरेका छन् । नास्टको प्राङ्गणमा प्रदर्शन गर्दै उनीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश फिर्ता लिनुपर्ने, स्थायी कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्नुपर्ने र विज्ञान क्षेत्रमा मन्त्रालयको हस्तक्षेप अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा असोज ३० गते जारी गरेका दुई अध्यादेशले नास्टको नाम, संरचना र सञ्चालन प्रणाली परिवर्तन गरेको छ । आन्दोलनरत कर्मचारीहरूले संसद्मा छलफल नगरी ल्याइएको नयाँ व्यवस्थाले प्रतिष्ठानको स्वायत्तता र वैज्ञानिक स्वतन्त्रता कमजोर बनाउने आरोप लगाएका छन् ।
नयाँ व्यवस्थाअनुसार मन्त्रालयको भूमिका र नियन्त्रण बढाइएको तथा स्थायी कर्मचारीलाई दुई वर्षभित्र हटाउन सकिने प्रावधान राखिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । दशकौँदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीको सेवा सुरक्षा संकटमा परेको उनीहरूको भनाइ छ ।
कर्मचारीहरूले नास्टको बजेट अनुसन्धानका लागि अपर्याप्त रहेको जनाउँदै नयाँ समानान्तर संरचना खडा गर्नुको सट्टा विद्यमान प्रयोगशाला र अनुसन्धान संस्थालाई सबल बनाउनुपर्ने माग गरेका छन् । मन्त्रालयले भने पुनर्संरचनाले प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने, अनुसन्धानकर्ता बढाउने र अनुदान वितरण पारदर्शी बनाउने दाबी गर्दै आएको छ ।
आन्दोलनकारीले मन्त्री महावीर पुनलाई पदबाट हटाउन, दुवै अध्यादेश फिर्ता लिन, कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न र विद्यमान अनुसन्धान संस्थालाई सबल बनाउन माग गरेका छन् । सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् ।








तपाईंको विचार लेख्नुहोस्