ज्ञान भएका तर त्यसलाई उजागर गर्ने मञ्च नभेट्टाएका युवाहरूले भेट्टाएको रङ्गमञ्च थियो राष्ट्रिय स्वतन्त्र पार्टी । आफू सम्बद्ध राजनीतिक दलको प्रवृत्ति र प्रबन्ध देखेर दिक्क मानेका, किन्तु उम्केर जाने कुनै मार्ग फेला नपारेका कार्यकर्ताले फेला पारेको नयाँ मुकाम थियो रास्वपा ।
देशमा भयरहित वातावरणको चाहना गर्नेहरूको समवेत आवाज थियो रास्वपा । हुलहाल र गालीगलोज बन्द भएर शालीन, सभ्य र समृद्ध समाज निर्माण होस् भन्ने चाहना गर्ने तरुणहरूको भरोसाको केन्द्र थियो रास्वपा । आलोचना, उपदेश र गफ होइन, समृद्धिको वास्तविक धारा बहाउनु आवश्यक छ र त्यो धारा बहाउने तरिकाको ज्ञान हामीलाई छ भनेर कम्मर कस्नेहरूको आवाज बनेर उदाएको थियो रास्वपा ।
रास्वपा हामी कर्म गर्नेछौं, कुकर्म गर्नेछैनौं भन्दै दिलासा दिने जोशिला युवाको गुञ्जन थियो । ‘नो नट अगेन’ को नाराले कसैको छाती ढक्क पार्ने वाणीको तिखो वाण थियो रास्वपा । कसैले माने पनि र नमाने पनि रास्वपा टाढा–टाढासम्म पुगेर ठोक्किएपछि फर्केर आउने प्रतिध्वनिझैँ सामुदायिक गुञ्जाइको पुञ्ज थियो । सङ्कटपूर्ण घडीमा प्राणीसँग तीनवटा विकल्प हुन्छन् । लड्ने, भाग्ने या उत्पन्न खतराका सामु आत्मसमर्पण गर्ने ।
जब लड्ने (फाइट गर्ने) शक्ति हुँदै हुँदैन या समाप्त हुन्छ, जब भागेर (फ्लाइट गरेर) पनि कहीँ पुग्ने या जोगिने सम्भावना बाँकी रहँदैन, प्राणीले आक्रमणकारीका सामुन्ने स्वयंलाई समर्पण (फ्रीज) गरिदिन्छ । फ्रीजको अर्थ हो, केही पनि नगर्ने । जब परिस्थितिले कुनै हलचल गर्ने गुन्जायस नै छाड्दैन भने छटपटाएर मात्र केही हुने त होइन । निकट इतिहासमा उत्पन्न भएको परिस्थितिमा ठूलो युवा जनशक्ति विदेशतिर पलायन (फ्लाइट) भयो ।
अर्को जनसमूह सतीले सरापेको देशमा केही हुँदैन भन्दै फ्रीज भएर बस्यो । एउटा सानो समूह लड्न त कसियो, तर पुरानै परिपाटीमा फर्कने इरादा लिएर । त्यही नैराश्यपूर्ण वातावरणमा जन्मेको थियो रास्वपा । उनासी सालको निर्वाचनले सुखद सङ्केत दियो । फरक शैलीमा कुरा गर्ने युवायुवतीको उपस्थितिले संसद् नै रमणीय देखिन्थ्यो ।
दुर्भाग्यवश त्यो उज्ज्वल समय धेरै दिन टिक्न सकेन । संसद्मा रास्वपाको उपस्थिति महत्वपूर्ण भए तापनि सत्तामा जाने जनादेश थिएन । रास्वपाको नेतृत्वले आफ्नो पार्टी परीक्षणकालमा रहेको कुरा बुझ्न सकेन । सत्ता लिप्साको जुन खिचातानीका विरुद्धमा आवाज बुलन्द गरेको थियो, त्यसैमा फस्न पुग्यो रास्वपा । एकपटक मात्र गल्ती गरेको भए अनुभवको कमी भन्न सकिन्थ्यो, तर रास्वपाको अर्को सत्तारोहण अत्यन्त आत्मघाती भयो ।
समयक्रममा सभापति झमेलामा पर्दै जाँदा वातावरण नै धमिलो हुन थाल्यो । रास्वपाका सुयोग्य र सज्जन युवा नेताहरू निल्नु न ओकल्नुको अवस्थामा देखिन थाले । एउटा नौलो सपना बोकेर राजनीतिको रङ्गशालामा प्रवेश गरेका उनीहरूका सामु आन्तरिक र बाह्य दबाबको गरुङ्गो भारी थियो । उनीहरूका लागि त्यो सङ्कट अनपेक्षित वास्तविकता थियो । सभापतिको नाममा उडिरहेको आरोपको धुवाँ निकै सघन थियो ।
आरोप लगाउने पक्षमा पनि दुराग्रह र प्रतिशोधको भावना प्रस्ट देखिन्थ्यो । कहाँ देश बदल्ने इमानदार शङ्खघोष, कहाँ यो लाचारी । शालीनता र शिष्टतारूपी गहना पहिरेर हिँड्ने तार्किक समूह हुलमूलमा फस्दै गयो । स्वच्छ तरिकाले गतिविधि गर्नै कठिन हुँदै गयो । राजनीतिलाई फगत राजनीतिको रूपमा मात्र बुझेको युवा जत्था त्यसभित्रको गन्जागोल देखेर विस्मित भयो होला । पुराना पार्टीले त ऐना हेर्न छाडिसके । रास्वपाले अलिकता धैर्यधारण गरेर ऐना हेर्दा आफ्नो अनुहारको कुनै कुनामा ससानो कलुषको धब्बा देख्यो कि । नेपालको नियति यस्तै हो कि नेपालीको नियत नै खराब ?
जोसै जोसमा कहिले कसैको आड लिने त कहिले कसैको धज्जी उडाउने क्रम बढ्दै गयो । प्रतिस्पर्धी शक्तिसँग व्यावहारिक पनि हुन चाहने र मतदाताको नजरमा लोकप्रिय पनि रहिरहन खोज्ने प्रवृत्ति देखियो । भविष्यको निर्णायक शक्ति यो एउटा अवधिभर कसैप्रति नरम र कसैप्रति गरम हुनुभन्दा निरपेक्षरूपमा ‘वाच डग’ को भूमिकामा बस्नुपथ्र्यो । निष्पक्ष र तटस्थ बस्नुपर्नेमा जानी नजानी ‘सिलेक्टिभ’ हुन जाँदा मामिला पेचिलो हुँदै गयो । निर्वाचनरूपी परीक्षामा उत्तीर्णाङ्क नै प्राप्त नभएको कुरा बिर्सेर हतारमा सत्तामोहले गाँजिहाल्यो ।
नेपालमा पछिल्लो समयको राजनीतिक रङ्गमञ्च निर्मम भनावैरीको चपेटामा थियो । सत्तालिप्सामा परेर गरिने भनाभन र भद्रगोलमा कमसे कम रास्वपाचाहिँ नपर्ला कि भन्ने आशा थियो । परन्तु ऊ ‘पर्ख–पर्ख’ भन्दाभन्दै सत्ताको सुरुङभित्र छिरिहाल्यो । सत्तारूपी सियोको नाथ्रीमा छिरेपछि त्यसले दिने चोट पनि सहनु नै पर्दछ । अस्थिर र छिचरो समयमा सत्तामा चढ्नाले रास्वपा पनि अरूजस्तै हो भन्ने आरोप त लाग्ने नै भयो । विद्यमान अवस्थाको प्रतिक्रियास्वरूप उदय भएको पार्टी प्रतिक्रियास्वरूप नै समाप्त हुन पुग्ने हो कि भन्ने चिन्ता पनि लाग्ने नै भयो ।
सामाजिक सञ्जालमा देखिने व्यर्थको वितण्डाले रास्वपालाई पनि गाँजेको छ । को आफ्ना, को बिराना, चिन्नै कठिन छ । रास्वपा पनि स्वच्छताबाट तुच्छतातिर लागेको आरोप सहन गर्न बाध्य भएको छ । शालीन र सुदृढ समर्थकहरू अशालीन र पीपलपातेहरूको छायामा पर्न गएका छन् । उचाल्ने, उक्साउने र पछार्नेहरू हाबी भएका छन् । तार्किकता र युक्तियुक्त पक्ष कमजोर बन्ने परिस्थिति छ । समग्र पार्टी नै भावुकताको आवेगमा तरङ्गित हुन थाल्ने हो कि भनेर सन्देह गर्नेहरू पनि छन् । बिरुवालाई छिटो हुर्काउन खोज्दा नक्कली युरियाको प्रयोग हुन गएको हो कि भन्ने कुरामा रास्वपाका विद्वान् नेतागण सचेत नै होलान् ।
जति नै स्वच्छताको सपथ खाए पनि आफ्नो शरीर मैलो छ भने नैतिक दृष्टिले कमजोर बनिन्छ । नेपालको राजनीतिमा अर्को पक्षसँग पङ्गा लिन खोज्नेले आफ्नो बगली सफा राखेको हुनुपर्छ । मैला हातले मैलो सफा गर्न सकिन्न । समग्र सामाजिक वातावरण धमिलो भएको यो समयमा आफूलाई जोगाएर राख्न पनि गाह्रो छ ।
‘अनैतिकताको शिखरमा बसेर अरूलाई औंला ठड्याउने अधिकार तिमीहरूलाई छैन’ भन्ने रास्वपा उपसभापतिको हाँकले पार्टीका तमाम नेता, कार्यकर्ता र समर्थकहरूलाई सदाचारी जीवनशैली अपनाउन प्रेरणा दिन सकोस् । ‘न भीतो मरणादस्मि केवलं दूषितो यशः’ अर्थात् मलाई मृत्युको डर लाग्दैन, बरु बदनामीको डर लाग्छ भन्ने भगवान् रामको आप्त वचन छ । रास्वपा अन्य पार्टीको सत्तालिप्सा र स्वार्थी चरित्रलाई धिक्कार्दै ‘नो नट अगेन’ को उद्घोष गरेर खडा भएको पार्टी हो । त्यो उद्घोषको सन्देशलाई जीवन्त राखिरहन सक्यो भने उसको अस्तित्वको औचित्य रहनेछ ।
अनैतिक शिक्षाका विश्वगुरु मेकियावेली भन्छन्, ‘शासक निडर, निर्लज्ज, जिद्दी र कपटी हुनु जरुरी छ । शासकले सत्य बोलेको अभिनय गर्न जाने पुग्छ, सत्य बोलिरहनुपर्दैन । सदाचारको नाटक गरे पुग्छ, सदाचारी हुनुपर्दैन ।’ यहाँ ‘शासक’ शब्दको अर्थ शासक हुन इच्छुक व्यक्तिसमेत भन्ने बुझ्नुपर्छ । नेपाली जनता धेरै समयअघिदेखि निर्लज्जता, कपटीपन र अनेकौं नौटङ्कीको फन्दामा पर्दै आएका छन् । नवोदित दलका नेताले सदाचार र स्वच्छताको अभिनय होइन, वास्तविक भूमिका निर्वाह गर्न सक्नुपर्छ ।
रास्वपाको आवाज सुमधुर गुञ्जनबाट क्रन्दनमय चिच्याहटमा परिणत भएको छ । परिस्थितिले सुन्दर र तार्किक वाणीलाई प्रतिकार, आवेग र रोषपूर्ण खस्रो बोलीमा रूपान्तरण गरिदिएको देखिन्छ । तत्कालीन र तदर्थ भक्तिबाट बाबाहरू पुलकित हुन्छन् । रास्वपाका नेतावृन्दमा आशुतोष बाबा प्रवृत्ति हाबी नहोस् भन्ने शुभकामना छ ।
आलोचकहरूले समाप्त भयो भनेर हतोत्साहित गर्न खोजे पनि रास्वपा अझै प्राणवान् र जीवन्त छ । वर्तमान नेपालको राजनीतिक संस्कृति र सामाजिक वातावरणमा नैतिक पुँजीमा ह्रास आउँदैमा जनताको भोट नपाइएला कि भनेर सुर्ता मान्नुपर्दैन । चिन्ता त राजनीतिक उपवनमा पलाएको नयाँ पालुवामा पनि पुरानो झाडीको रोग सर्ने हो कि भन्नेमा मात्र छ ।
प्रतिक्रिया