नेपालको हितैषीका रूपमा परिचित अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको गत वर्ष डिसेम्बर २९ मा जर्जियास्थित आफ्नै निवासमा निधन भएको थियो । सय वर्षको उमेरमा निधन भएका उनी अमेरिकी इतिहासमा सबैभन्दा बढी बाँच्ने राष्ट्रपति हुन् ।
कार्टर केही समयदेखि मेलानोमा नामक एक प्रकारको छालाको क्यान्सरबाट पीडित थिए । यो क्यान्सर उनको कलेजो र दीमागसम्म फैलिसकेको थियो । गत वर्ष मात्रै उनकी श्रीमती रोजालिना कार्टरको ९६ वर्षको उमेरमा निधन भएको थियो ।
उनले वि.सं. २०७० सालमा सम्पन्न आमनिर्वाचनको क्रममा नेपालका ३१ जिल्लाका ३ सय ३६ मतदान केन्द्रको निरीक्षण गरेका थिए ।
कार्टरबारे केही तथ्यहरू
-१ अक्टोबर १९२४ मा जन्मेका कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए ।
-किसान परिवारमा जन्मेका कार्टर सन् १९६० मा राजनीतिमा प्रवेश गरेका थिए ।
-उनी सन् १९७१ मा पहिलो पटक राज्यका गभर्नर बनेका थिए ।
-यसको ठीक ६ वर्षपछि रिपब्लिकन पार्टीका राष्ट्रपति जेराल्ड फोर्डलाई हराएर उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
-कार्टरको कार्यकालमा ठूला चुनौतीहरू थिए । जसमा, शीत युद्धको तनाव, तेलको अस्थिर मूल्य र रंगभेदी तथा महिला अधिकारलाई लिएर कयौं अमेरिकी राज्यहरूमा आन्दोलन भएको थियो ।
-उनको सबैभन्दा ठूलो उपलब्धि सन् १९७८ मा क्याम्प डेभिड एकर्ड अर्थात इजिप्टका राष्ट्रपति अनवर सादात र इजरायलका प्रधानमन्त्री मेनाचेम बेगिनबीच भएको ऐतिहासिक शान्ति सम्झौता थियो । यो सम्झौताले मध्य पूर्वमा शान्ति कायम भयो र कार्टर शान्ति समर्थक नेताको रूपमा स्थापित भए ।
-सन् १९७९ मा ईरानमा भएको क्रान्तिले अमेरिकी समर्थक शाहको सत्ता समाप्त पारिदियो । यसले कार्टरविरुद्ध अमेरिकामा प्रदर्शन भयो । विरोध बढेर उहाँको लोकप्रियता घटेपछि यस वातावरणमा अर्को राष्ट्रपति चुनावमा पराजित हुनुपरेको थियो । सन् १९८० को राष्ट्रपति चुनावमा उनी हलिउड एक्टर रोनाल्ड रेगनबाट पराजित भएका थिए ।
-राष्ट्रपति पद सकिएपछि आफ्नै संस्था ‘कार्टर सेन्टर’ मार्फत् परोपकारी कामलाई निरन्तरता दिइरहेका कार्टरले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए ।
प्रतिक्रिया