यतिखेर अन्तर्राष्ट्रिय प्रविधि बजारमा मात्रै होइन, नेपालमा पनि चर्चाको शिखरमा छ, चिनियाँ प्रविधि कम्पनी डिपसिक । यो कम्पनीले ओपन–सोर्स लार्ज ल्याङ्वेज मोडलस् (एलएलएमएस) विकास गरिरहेको छ, जसले ओपन एआईको च्याट जीपीटी जस्तै क्षमताशील एआई प्रणाली निर्माण गर्ने लक्ष्य राखेको छ ।
डिपसिक एआई खुला स्रोत भएकाले कुनै पनि कम्पनी वा डेभलपरले यसलाई निःशुल्क प्रयोग र परिमार्जन गर्न सक्छ । यो प्रविधिले विश्वभरका अनुसन्धानकर्ता, व्यवसायी र स्टार्टअपहरूलाई फाइदा पुर्याउन सक्छ । यसको उदयले विश्वव्यापी एआई क्षेत्रमा अमेरिकी प्रविधि कम्पनीहरूको प्रभुत्वलाई चुनौती दिँदै चीनको बढ्दो क्षमतालाई उजागर गरेको छ । साथसाथै यसले एआईको क्षेत्रमा महत्वपूर्ण परिवर्तनको संकेत समेत गरेको छ ।
छोटो समयमै यसले हासिल गरेको लोकप्रियतासँगै चिनियाँ कम्पनी भएको कारणले डेटा सुरक्षा र चीन सरकारको नियन्त्रण जस्ता विषयमा चिन्ता पनि व्यक्त हुन थालेको छ । यद्यपि सस्तो भएको कारण माईक्रोसफ्ट र अमाजोन जस्ता ठूला कम्पनीहरूले आफ्नो सेवामा डिपसिकको प्रविधिलाई समाहित गर्न थालिसकेको छ।
डिपसिक के हो?
सन् २०२३ को जुलाईमा लिआङ वेन्फेङले चीनको जेज्याङ प्रान्तस्थित हाङ्झाउ शहरमा डिपसिक आर्टिफिसियल इन्टेलिजेन्स बेसिक टेक्नोलोजी रिसर्च कम्पनी लिमिटेड गरेका थिए । यो कम्पनीको प्रमुख उद्देश्य सस्तो, शक्तिशाली र खुला स्रोतको कृत्रिम बुद्धिमत्ता प्रणाली निर्माण गर्नु हो ।
डीपसीक–आर वान
नोभेम्बर २०२४ मा, डिपसिकले आफ्नो पहिलो एआई मोडेल डिपसिक–आर वान सार्वजनिक गर्यो । च्याट जीपीटी जस्तै शक्तिशाली यो मोडेल अत्यन्तै कम लागत अर्थात् ५५ लाख ८० हजार अमेरिकी डलरको लागतमा तयार गरिएको बताइएको छ । अमेरिकाले एड्भान्स एआई चिप चीन निर्यातमा प्रतिबन्ध लगाए पनि, चीनले वैकल्पिक तरिकाबाट यस्तो प्रतिस्पर्धी एआई मोडेल निर्माण गरेको हो ।
डिपसिकको मोबाइल एप
गत जनवरी २०२५ मा, डिपसिकले आईओएस र एन्ड्रोइडका लागि आफ्नो एआई सहायक एप सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको केही हप्तामै यो एप अमेरिका, चीन लगायत विभिन्न देशमा सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न सफल भएको छ ।
अमेरिकी प्रविधि बजारमा असर
डिपसिकको लो–कस्ट र हाई–पर्फमेन्स प्रविधिले अमेरिकाको बहुराष्ट्रिय कर्पोरेसन एवं प्रविधि कम्पनी एनभिडिया, ओपन एआई, माईक्रोसफ्ट जस्ता ठूला अमेरिकी प्रविधि कम्पनीहरूलाई दबाबमा पारेको छ । यो एपको लोकप्रियतासँगै एनभिडियाको सेयर मूल्य घट्न थालेको समाचारहरू प्रकाशित भएको छ ।
डिपसिक एआई अहिलेको प्रविधि दुनियाँमा एक ठूलो क्रान्ति बनिरहेको छ । यसले भविष्यमा एआई क्षेत्रमा पार्नेे प्रभावका साथै यसले ओपन एआई जस्ता ठूला कम्पनीहरूलाई टक्कर दिन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर जान्न भने केही समय पर्खनै पर्ने हुन्छ ।
प्रतिक्रिया