राजनीति शब्द आफैँमा पवित्र शब्द हो । यसको प्रयोग कसरी गरिन्छ भन्नेमा भर पर्छ । संसारमा राजनीति गर्नेहरुले यसलाई सही वा गलतरुपमा प्रयोग गर्दा कसैले राजनीतिलाई माया, प्रेम भावले हेरेको पाइन्छ भने कतिपयले यसलाई गलतरुपमा प्रयोग गर्दा यो शब्दप्रति घृणा गर्नेहरुको जमात पनि संसारभर रहेको छ।
एउटा शब्दमाथि कसैको दया–प्रेम भाव हुनु अनि कसैले भने त्यसलाई घृणाको रुपमा हेर्नुले राजनीति शब्दलाई कसरी परिभाषित गर्ने भन्ने बारेमा बहस हुन थालेको पाइन्छ। नेपालमा राजनीति गर्नेहरुले यसलाई सही ढंगले प्रयोग गर्न नसक्दा यो शब्दप्रति घृणाका भावहरु उत्पन्न हुन थालेका छन्। नेपालमा कसैले केही पाएन भने राजनीति गर्दछ भनेर परिभाषित गर्न थालिएको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि नेपालमा राजनीति गर्नेहरु सक्रिय भएको देखिन्छ।
राजपरिवारबाहेक अरुले राजनीति गरे दुःख–कष्ट भोग्नुपर्ने भएकाले राजनीतिमा चासो भए पनि राजनीति गर्ने आँट भने त्यस बेला कसैले गरेको पाइँदैनथ्यो। त्यसपछि नेपालमा राणा शासन र पञ्चायती शासनकालमा राजनीति गर्नेहरु एकपक्षीय हुने गरेका थिए।
२०४६ सालको परिवर्तनसँगै नेपालमा राजनीति गर्नेहरुको संख्या ह्वात्तै बढ्यो र राजनीतिलाई सेवाभावभन्दा पनि पेसाको रुपमा अपनाउन थालेपछि यो शब्दमाथि विभिन्न कोणबाट टिकाटिप्पणीहरु हुन थाले। समयको विकासक्रमसँगै राजनीति गर्नेहरुले यसलाई सही ढंगले अघि बढाउन नसक्दा राजनीति गर्नेमाथि मात्र होइन, राजनीति शब्दमाथि नै वितृष्णा र घृणाका स्वरहरु चर्कोरुपमा देखिन थालेका छन्। राजनीतिप्रति प्रतिदिन घृणाभाव फैलन थालेकाले राजनीति गर्नेहरु होसियार हुनुपर्ने अवस्था आएको छ। राजनीतिले मुलुकलाई सही बाटोमा हिँडाउन नसकेपछि यसप्रति जनतामा देखिएको वितृष्णा र घृणाले उत्कर्ष पार गर्ने अवस्था पुगेको छ।
शब्द आफैँमा पवित्र भए पनि गलत प्रयोगका कारण शब्दमाथि प्रहार हुनु पक्कै राम्रो होइन। राजनीति गर्नेहरुले बेलैमा सोचेनन् भने मुलुकमाथि अर्को संकट नपर्ला भन्न सकिन्न। राजनीतिलाई सही ढंगले प्रयोग गरेका मुलुकहरुले आफूलाई विश्वमा नै अब्बल बनाएका छन् भने यसको सही प्रयोग नगर्नेहरुले मुलुकलाई अधोगतितर्फ धकेल्दै लगेका उदाहरणहरु विश्वमा नै देख्न सकिन्छ। त्यसैले राजनीति गर्नेहरुले सकारात्मक सोच राख्न नसकेसम्म यो शब्दमाथि अनेकन लाञ्छना लाग्ने देखिन्छ। त्यसैले आफ्नो स्वार्थभन्दा पनि समाजको हिततर्फ लाग्न सके राजनीति गर्नेहरुको पनि हित हुनुका साथै मुलुकको पनि हित हुने थियो। यसतर्फ सबै सचेत हुनु जरुरी छ।











प्रतिक्रिया