रोलर स्केटमा राजन र निर्जला पहिलो


काठमाडौं ।

राजन मगराती र निर्जला श्रेष्ठ तेश्रो राष्ट्रिय फ्रिस्टायल रोलर स्केट प्रतियोगितामा आइतबार पहिलो भएका छन्। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा राजन र महिलामा निर्जला पहिलो भएका हुन्।

गल्फुटारमा भएको प्रतियोगिताको पुरुषमा सोहन गुरुङ दोस्रो र रोहन कुँवर तेस्रो भए । महिलामा सन्ध्या मगरले रजत तथा र निमिषा तामाङले कांस्य जिते । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुषमा सहभागी २ सय ५० खेलाडी मध्ये ४० तथा महिलामा सहभागी १ सय ५० मध्ये १० खेलाडी प्रतियोगिताको मुख्य प्रतिस्पर्धामा सहभागी भएका थिए। खेलाडीको छनोट चरणको खेल शनिवार भएको थियो। सोही छनोट चरणबाट खेलाडी छानिएको आयोजक संघका महासचिव सत्य थापाले जनाएका छन्।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्लाइविङ संघका अध्यक्ष रमेश पौडेल, आयोजक संघका अध्यक्ष अच्युत खनाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

समापनका अवसरमा अध्यक्ष खनालले यसै प्रतियोगिताको प्रदर्शनलाई आधार मानी समान ५/५ पुरुष/महिला गरी १० खेलाडीलाई दक्षिण कोरियामा जुनमा हुने एसियन रोलर डारबी प्रतियोगितामा सहभागी गराइने जानकारी गराए।

Skip This