ह्याट्रिकका साथ प्रिन्स र रशिलालाई ललितपुर मेयर कपमा उपाधी


ललितपुर ।

तेश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपीएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले जितेका छन्। ललितपुर नगरपालिकाद्वारा प्रायोजित तथा ललितपुर जिल्लाद्वारा आयोजित मेयरकपमा दुबै खेलाडीले उपाधिमा ह्याट्रिक समेत गरे।

शनिबार पुरुष फाइनलमा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–८, २१–९ ले हराएर उपाधिमा ह्याट्रिक गरेका हुन्। यस्तै, महिला एकल फाइनलमा शीर्ष बरियताकी रसिलाले सेनाकै अमिता गिरीलाई २१–७, २१–११ ले पराजित गरेकी हुन्।

यस्तै, यु १७ तर्फको पुरुष एकलतर्फ एपीएफका कविर के.सी.ले सेनाका सुबिन श्रेष्ठलाई २१–९, २१–१३ ले हराउँदै उपाधि जिते । महिलातर्फ सेनाकी रिहाना शेरचनले एपीएफकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१२ ले हराएर उपाधि जितिन् ।

३१ लाख अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगल तर्फका बिजयीले नगद ४० हजार तथा दोश्रो हुनेले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजार प्राप्त गरे। यु–१७ तर्फ ब्वाईज तथा गल्र्स एकलमा प्रथम द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे।

Skip This