खेल र खेलाडी बचाउन राज्यले लगानी गर्नुपर्छ : मुवाँथाई किक बक्सर थापा

4.79k
Shares

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, छायाँ बस्तीमा जन्मेका अनुप थापा एक सफल मुवाँथाई किक बक्सर हुन्। सानैदेखि चुलबुले स्वभावका थापाले टोनी जा र ब्रुस लीको फिल्मबाट प्रभावित भई मार्सल आर्ट्समै भविष्य खोजी गर्दै स्वअभ्यास सुरु गरेको बताए। उनी अहिले अमेरिकामा खेल्दै नेपाली खेलकुदमा योगदान गरिरहेका छन् ।

तेक्वान्दो र करातेमा स्कोप भए पनि मुवाँथाई किक बक्सिङ रोज्नुको कारण?

मैले सानोमा भक्तपुरको तेलकोटस्थित ओम तेक्वान्दो डोजाङमा तेक्वान्दो सिक्थे र अरुलाई पनि सिकाउँथे । डिस्ट्रिक्ट लेभलमा पहिलो पनि भएँ । १५ महिनापछि गुरुले प्रशिक्षण दिन आउन छोड्नु भयो । आर्थिक अवस्था कमजोर भएको हुँदा मैले तेक्वान्दोको प्रशिक्षण बीचैमा छाडे ।

पछि जपानमा अध्ययन गर्न गएको बेला कयौंले नेपाल देश थाहा नै नभएको सुन्दा निकै दुःख लाग्यो । टोकियोमा नेपालको नाम चिनाउने उद्देश्यले मैले टोकियो फोनिक्स मुवाँथाई किक बक्सिङ जिममा थाइल्यान्ड र जापानका विश्वका लिजेन्डहरुसंग प्रशिक्षण गर्न थाले ।

जापानबाट अमेरिका कसरी?

जपानमा नर्सिङ फुल टाइम वर्कर थिए । टोकियो अध्यगमनले पनि नेपाललाई भिसामा निकै कडाई गर्न थाल्यो । त्यहाँ समय अनुकूल नभएपछि म अमेरिकातिर गएँ ।

आदर्श खेलाडी को को हुन् ?

मेरो आदर्श खेलाडी टोनी जा, ब्रुस लि र ज्याकी च्यान हुन् । उहाँहरुकै फिल्म हेरेर म मार्सल आर्ट्समा लाग्न प्रेरित भए ।

अहिले मार्सल आर्ट्स सिक्नेहरु बढेका छन् कि घटेका छन् ?

विश्वमा बढी रहेका छन् । किनकी अन्य खेलकुदमा जस्तै अहिले यसमा पनि राम्रो मौका र भविष्य छ । नेपालमा भने खासै स्कोप भएको देखिँदैन ।

नेपालमा मार्शल आर्टस्लाई विकास गर्न के गर्नुपर्छ ?

नेपालले विश्वका अब्बल दर्जाका विदेशी प्रशिक्षक ल्याएर नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिनुपर्छ । सरकारसंगै कर्पोरेट क्षेत्रले पनि खेलकुदमा लगानी गरेर नेपालमा धेरैभन्दा धेरै प्रतियोगिता आयोजना गर्नु जरुरी छ ।

आगामी लक्ष्य के छ ?

मेरो मुख्य लक्ष्य भनेको किक बक्सिङमा विश्व विजेता बन्दै नेपाललाई अझ अन्तर्राष्ट्रिय जगतमा चिनाउनु हो । अर्को लक्ष्य भनेको नेपाललगायत विश्वका अपाङ्ग र अनाथ बालवालिका तथा वृद्धवृद्धालाई सहयोग गर्न फाउन्डेसन स्थापना गर्नु हो ।

(बक्स) अनुपको उपलब्धिहरू ः

—जापानको प्रख्यात किक बक्सिङ र मुवाँथाई प्रोफेसनल च्याम्पियनसिपमा स्वर्ण पदक ।

—५५ केजी तौलसमूहमा डब्लुएमसी मुवाँथाईमा २ पटक नेपालको प्रतिनिधित्व।

—५५ केजी मुवाँथाई मै ३ पटक जापान नेसन्स च्याम्पियन गोल्डेन लिजेन्ड वेल्ट, स्वर्ण पदक र स्वर्ण ट्रफी।

—२ पटक यसै तौल समूहमा २ वटै प्रोफेसनल मुवाँथाई फाइटमा स्वर्ण ट्रफी।

—अमेरिकाको फ्लोरिडामा भएको मिक्स मार्सल आर्ट्सको डब्लुएमएसी अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनाको पुरुष ७० केजीमुनि ओरिएन्टल बक्सिङ लाइट वेटमा स्वर्ण पदक।

—यसै तौल समूहका लाइट कन्ट्याक्ट र एमएमए लाइट, ओपन क्लासमा रजत तथा किक लाइटमा कांस्य पदक।