एजेन्सी ।
भारतको विजयवाडा निवासी विजयश्री गुप्ता ७६ वर्षको उमेरमा पनि धेरैका लागि फिटनेसको प्रेरणा बनिरहेकी छन्। उनी अहिले पनि विश्वभर विभिन्न प्रतियोगितामा एक व्यावसायिक पौडीबाजको रूपमा भाग लिइरहेकी छन्।
अन्तर्राष्ट्रिय वयोवृद्ध पौडी प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दैछिन् र विश्वभरका विभिन्न प्रतियोगितामार्फत थुप्रै पुरस्कार पनि जितेकी छन्। यसो भनिरहँदा पक्कै पनि उनी बाल्यकालदेखि नै पौडी खेल्नमा निपुण जस्तो लाग्न सक्छ। तर, त्यस्तो केही होइन।
वास्तवमा विजयश्रीले ४० वर्षको उमेरमा पौडी सिकेकी थिइन् । मद्रास विश्वविद्यालयकी स्नातक र तीन सन्तानकी आमा विजयश्रीले सन् १९९९ मा आफ्नो कान्छी छोरीसँग पौडी सिकेकी थिइन् ।
शुरुमा पौडी खेल्नुलाई समय बिताउने माध्यम मात्र मानेकी उनको यसप्रतिको चासो बढ्दै गयो । परिवारको सहयोगमा उनले यसलाई व्यवसायिकतिर लैजाने निधो गरिन् । बिस्तारै उनले परिवारको समर्थन पनि पाइन् । ५२ वर्षको उमेरमा परिवारको प्रोत्साहनमा विजयश्रीले स्विमिङ सुट लगाएर कडा अभ्यास गर्न थालिन् । उनको कठिन परिश्रमको परिणामस्वरूप उनले ४५–५० वर्ष उमेर समूहको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाए।
त्यसपछि सन् २००७ मा उनले न्यू जर्सी सीनियर ओलम्पिक च्याम्पियनसिपमा तीनवटा स्वर्ण जितेर आफ्नो उत्कृष्टताको बीजारोपण गरिन्। यो जितले उनको उत्साहलाई दोब्बर बनायो। त्यसपछि विजयश्रीले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
विजयीश्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० भन्दा बढी पदक जित्न सफल भएकी छन्।
उनले अमेरिका, सिंगापुरलगायत भारतका विभिन्न राज्यमा आयोजना भएका प्रतियोगिताहरुमा पदक जितेकी हुन् । सन् २०२४ मेमा उनले भारतको सिकन्दराबादमा भएको प्यान इन्डिया मास्टर्स कपमा ४ स्वर्ण र एक रजत पदक जितिन् ।
विजयश्री एक उत्कृष्ट पौडीबाज र गृहिणी मात्र होइनन्, उनी एक उद्यमी र सामाजिक अभियन्ता समेत हुन् । उनले १३ वर्षसम्म अल इण्डिया रेडियो विजयवाडामा ‘युवा वाणी र वणिता वाणी’ कार्यक्रमहरू सञ्चालन गरिन् । सन् २०१६ मा उनलाई आन्ध्र प्रदेशका तत्कालीन मुख्यमन्त्री नारा चन्द्रबाबु नायडूबाट ‘विशिष्ठ महिला’ पुरस्कारले सम्मान गरिएको थियो ।
सन् २०२३ मा विजयश्रीलाई हैदराबादको तेलुगु तेजम संस्थाबाट ‘लेजेण्डरी महिला’ पुरस्कार प्रदान गरिएको थियो । उनलाई २०२४ को हैदराबाद लाइमलाइट अवार्ड्सको लागि महिला श्रेणीमा पञ्चायती राज्यमन्त्री दन्सारी अनुप्रियाबाट सम्मान गरिएको थियो। आन्ध्र महिला सभा चेन्नाईले उनलाई पौडीमा गरेको योगदानका लागि ‘आइकनिक स्विमर’ पुरस्कार प्रदान गरिएको छ।
गोल्ला एजुकेशनल एण्ड रिसर्च ट्रस्टका ट्रस्टीको रूपमा उनले थुप्रै विद्यार्थीहरूको शैक्षिक र चिकित्सकीय आवश्यकताहरूमा सहयोग पुर्याएकी छन् । उनले ७६ वर्षको उमेरमा कम्तीमा एक किलोमिटर पौडी खेल्ने गरेको अन्तराष्ट्रीय मिडियालाई बताउने गरेकी छन् । उनले आफ्नो सफलताको श्रेय भने परिवारलाई दिने गर्छिन् ।
अभिभावकहरूले आफ्ना छोरीहरुलाई परम्परागत भूमिकामा मात्र सीमित नगर्न र उनीहरूको चासो र इच्छाको पनि समर्थन गर्नुपर्ने उनले बताउने गर्छिन्। महिलाहरूले उनीहरूको उमेरमा ध्यान नदिई प्रयास गरेमा कठिनभन्दा कठिन लक्ष्य पनि हासिल गर्न सक्ने उनको भनाई रहेको छ।
विजयश्रीको कुशलता पौडीमा मात्र सीमित छैन। उनी पौडी पोखरीभित्र पानीमाथि आसन र योग गर्न पनि निपुण छिन्। शुरुमा सौखको रुपमा पौडी खेलेकी उनलाई पौडीप्रतिको लगाव र मेहनतले कहिले नसोचेको उंचाईमा पुर्याएको छ, जुन हरेक महिलाहरुका लागि प्रेरणादायी बनेको छ।











प्रतिक्रिया